भारतबाट आयात हुने तरकारीको सीमामै विषादी परीक्षण हुने


भारतबाट आयात हुने तरकारीको सीमामै विषादी परीक्षण हुने

File Photo

नेपालगन्ज २९ चैत्र : भारतबाट आयात हुने तरकारीको अब नियमित विषदी परीक्षण हुने भएकोछ । तरकारी तथा खाद्यान्न जाँचसम्बन्धी कार्यविधि मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले पास गरेको छ ।

कार्यविधि पास भएसँगै अब भारतबाट आयात हुने तरकारीको नियमित विषादी परीक्षण हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएकोछ ।

अब भारत तथा विदेशी मुलुकबाट आउने र नेपालमा उत्पादित हुने तरकारीको पनि विषादी परीक्षण हुनेछ । नेपाल सरकारको मातहतका विभागअन्तर्गतका ल्याबहरुबाट विषादीको परीक्षण हुनेछ । विदेशबाट भित्रिने तरकारीको भने सीमा नाकामै विषादी परीक्षण गर्ने व्यवस्था मिलाइने जनाइएको छ ।

यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पेस गरेको विषादी परीक्षणसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्बाट फिर्ता भएको थियो । २०७९ मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन भएपश्चात् नयाँ सरकार गठन भएपछि पुरानो मन्त्रिपरिषद्का निर्णय स्वतः फिर्ता जाने प्रचलनअनुरूप सो प्रस्ताव पनि फिर्ता गएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

प्रस्ताव फिर्ताको विषय सञ्चारमाध्यममा सार्वजनिक भएर चर्को आलोचना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तुरुन्तै अर्को प्रस्ताव ल्याउन निर्देशन दिएका थिए ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तत्कालै नयाँ प्रस्ताव तयार गरी मन्त्रिपरिषद्मा पेस गरेको थियो । गत फागुन २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त प्रस्तावमाथि छलफलका लागि सम्बन्धित समितिहरुमा पठाउने निर्णय गरेको थियो ।