नेपालगन्ज ३ वैशाख : व्यक्तिगत घटना दर्ता अभियान सप्ताह चलिरहँदा बाँकेको नेपालगन्ज उपमहानगरपालिका भित्र जन्मदर्ताको अवस्था बारे स्थलगत अनुगमन थालिएकोछ ।
नेपालगन्ज उपमहानगरपालिकाभित्र जन्मदर्ताको अवस्था बुझ्दै जन्मदर्ताका बारेमा आवश्यक सूचना प्रवाह गर्न अनुगमन गर्न थालिएको हो ।
जन्मदर्ता सम्बन्धि अभिमुखीकरणपछि उपमहानगरपालिकाको प्रत्येक वडा–वडामा जन्मदर्ताको अवस्थाबारे अनुगमन गर्दा पछिल्लो समय जन्म दर्ता गराउनेको संख्या बढेको पाइएको छ ।
पहिलो चरणमा उपमहानगरपालिकाको वडा नम्बर १४, १५, १६ र २३ मा गरिएको अनुमगनका क्रममा वडाका जनप्रतिनिधि एवम् सम्बद्ध अधिकारीहरुले जन्मदर्ता गराउनेहरु बढेको बताएका हुन् ।
अभिभावक, धर्मगुरु एवम् सामाजिक अभियन्ताहरुबाट जन्मदर्ता गर्ने कार्यमा सहयोग भइरहेको वडा नम्बर–२३ का वडा जब्बर अलि बेहनाले बताए । वडा नम्बर–१४ का वडा अध्यक्ष मजहर अलि साईले बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराउनुपर्दछ भन्ने चेतना अभिभावकहरुमा विकास भएको बताए । जन्मदर्ताबारे समाजमा सचेतना बढेका कारण जन्मदर्ता गराउनेहरु बढ्न थालेको वडा नम्बर–१५ का सहायक पाँचौं शोभाकर भण्डारीले बताए ।
नेपालगन्ज उपमहानगरपालिकाको २३ वटै वडामा जन्मदर्ता गर्ने प्रबृत्तिमा सुधार भए÷नभएको अवस्थाबारे तीन चरणमा अनुगमन गरिने महिला विकास अधिकृत पवित्रा पुरीले जानकारी दिइन् । उनका अनुसार अनुगमनका क्रममा जन्मदर्ता गर्नेहरु बढेको पाइएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाले सबै वडालाई जन्मदर्ता सम्बन्धि अभिमुखीकरण गरिसकेपछि त्यसयता भएको सुधारबारे अनुगमन थालिएको पञ्जीकरण शाखाकी तुलसा पन्थी आचार्यले बताइन् ।
उपमहानगरपालिकाभित्र यही वैशाख १ गतेदेखि ७ गतेसम्म ब्यक्तिगत घटना दर्ता सप्ताह सञ्चालित छ । व्यक्तिगत घटना दर्ता अभियान सप्ताहमा विशेषगरि जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाईसराईँ दर्ता गराउन आम सर्वसाधरणमा जनचेतना प्रवाह गरिदैँछ ।