बर्मा निवासी ८० वर्षीय डीपी शर्मा घिमिरे र नेपालगन्ज निवासी ७५ वर्षीया हिमा ज्ञवाली ।
नेपालगन्ज ४ वैशाख : सामाजिक सञ्जालको सदुपयोग गर्न सके धेरै राम्रा र उल्लेखनीय काम हुन सक्छन् भन्ने थुप्रै उदाहरण छन् । तीमध्ये एक उदाहरण बनेको छ, ५८ वर्षपछि दाजु र बहिनीको भेटघाट ।
यो घटना विदेशको नभई आफ्नै देश नेपालको त्यो पनि नेपालगन्जको हो । सामाजिक सञ्जाल फेसबुकले ५८ वर्षपछि दाजु–बहिनीको भेट गराएपछि अहिले यो घटनाले चर्चा बटुलेकोछ ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१०, भृकुटीनगर निवासी ७५ वर्षीया हिमा ज्ञवालीले बर्मामा बस्ने ८० वर्षीय दाजु डीपी शर्मा घिमिरेलाई ५८ वर्षपछि सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट भेट्न पाएकी हुन् ।
हिमा ज्ञवालीका दाजु डीपी शर्मा घिमिरेले फेसबुकबाट आफन्तलाई खोजी गर्दा बहिनी हिमालाई भेटे । त्यसपछि उनी बर्मामा बस्ने दाजु नेपालगन्ज आएर बहिनीसँग भेट गरे । दाजु–बहिनीबीच ५८ वर्षसम्म कुनै प्रकारको भेटघाट र सम्पर्क थिएन ।
बर्मामा बस्ने दाजु घिमिरेले नेपालमा रहेका घिमिरे, पन्थी र ज्ञवाली इष्टमित्रलाई फेसबुकमा खोज्दै जाँदा धेरै मेहनत र लामो समयपछि बहिनी हेमाको ठेगाना पत्ता लगाउन सफल भए । त्यसपछि उनी बहिनी र आफन्त भेट्न १८ दिनको भिसा लिएर नेपाल आए । बहिनी हिमाले भनिन्,–‘यतिका वर्षपछि दाजुलाई देख्न र भेट्न पाउँदा स्वर्ग नै पाएजस्तो भएको छ । बर्मामा रहेका कुनै पनि परिवारका सदस्यसँग भेट हुने आशा मरिसकेका बेला दाजुलाई भेट्न पाउँदा खुसीले गदगद भएकी छु ।’
उनका दाजु डीपीको अनुभव पनि बहिनीको जस्तै छ । उनले बहिनी, आफन्त र परिवारसँग भेट हुने सबै आशा समाप्त भइसकेका बेला फेसबुकबाट आफन्तको खोजी गरेर नेपाल आएर भेट्न पाउँदा अति नै खुसी लागेको बताए ।
वि.सं. २००५ मा बर्मामा जन्मिएकी हिमाको १६ वर्षको उमेरमा बर्मामै गुल्मी जिल्ला निवासी फणीन्द्रनाथ ज्ञवालीसंँग विवाह भएको थियो । त्यसको एक वर्षपछि उनीहरू नेपाल आएका हुन् । नेपाल आएपछि चार/पाँच वर्ष चिठीपत्र आदानप्रदान भएपनि पछि पूर्ण रूपमा सम्पर्क विच्छेद भएको थियो ।
उनका हजुरबुवा नारायणप्रसाद घिमिरे बर्मा घुम्न गएको र उतै बसेका थिए । उनका १२ छोराछोरी जन्मिएका थिए । १२ छोराछोरीमध्ये हिमा माइली छोरी हुन् । दाजु–बहिनीको भेट भएपछि आमालाई पनि बर्मा लगेर त्यहाँ रहेका आफन्तलाई भेट गराउने तयारी भइरहेको हिमाका कान्छा छोरा प्रदीप ज्ञवालीले जानकारी दिए । -गोरखापत्र अनलाईनबाट
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ