काँग्रेस बाँकेले दीप प्रज्ज्वलन गरि लोकतन्त्र दिवस मनायो


काँग्रेस बाँकेले दीप प्रज्ज्वलन गरि लोकतन्त्र दिवस मनायो

नेपालगन्ज ११ वैशाख : १७ औं लोकतन्त्र दिवसका अवसरमा नेपाली काँग्रेस बाँकेले दीप प्रज्ज्वलन गरि मनाएकोछ । नेपालगन्जस्थित विपी चोकमा सोमबार बेलुका दीप प्रज्ज्वलन गर्दै काँग्रेस बाँकेले ०६२/६३ को लोकतान्त्रिक आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने सहिदहरुलाई सम्झयो ।

पार्टी सभापति नारायणप्रसाद गौडेलको सभापतित्व एवम् केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीको प्रमुख आतिथ्यतामा भएको दीप प्रज्ज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरुले काँग्रेसको नेतृत्वमा भएको ०६२/६३ को जनआन्दोलनका जगमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापित भएको बताए ।

काँग्रेस केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीले ०६२/६३ को जनआन्दोलनको बलमा संविधानसभामार्फत बनेको संविधान बमोजिम दुई पटक तीनै तहको निर्वाचन सम्पन्न भई कार्यान्वयन भइरहेको बताए ।

सभापति गौडेलले काँग्रेसको नेतृत्वमा भएको दोस्रो जनआन्दोलन पश्चात सामान्य जनताको छोरा वा छोरी मुलुकको राष्ट्र प्रमुख वा उपप्रमुख हुने अवस्था बनेको भन्दै अब जनताका आकांक्षालाई सम्बोधन गर्दै राष्ट्र विकास र समृद्धिका लागि पार्टीले गम्भीर ढंगले काम गर्नुपर्ने बताए ।

Kids Festival 2022
kanti aarogya hospital

राष्ट्रिय सभा सदस्य एवम् पूर्व पार्टी जिल्ला सभापति युवराज शर्माले लोकतन्त्र ल्याउन काँग्रेसको नेतृत्वमा भएको आन्दोलनले व्यवस्था परिवर्तन गरेको बताउँदै अब अवस्था परिवर्तनका लागि गम्भीर भएर लाग्नुपर्नेमा जोड दिए ।

यस्तै दीप प्रज्ज्वलनमा पूर्व मन्त्री एवम् पूर्व पार्टी बाँके सभापति गजेन्द्रबहादुर हमालले लोकतन्त्र दिवसको सार्वजनिक विदा हटाएर सरकारले गम्भीर गल्ती गरेको भन्दै दोस्रो जनआन्दोलनको सम्मानका लागि सार्वजजिक विदा दिइनुपर्नेमा जोड दिए ।

काँग्रेस बाँकेका उपसभापति गोपालप्रसाद अधिकारीले स्वागत मन्तब्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गरेका थिए ।

विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुर्नस्थापना गरेका थिए । जनताको विजय भएको खुसियालीमा विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो ।