फुसको छाना विस्थापित गर्दै खजुरा


फुसको छाना विस्थापित गर्दै खजुरा

File Photo

नेपालगन्ज ११ वैशाख : बाँकेको खजुरा गाउँपालिले फुसको छाना हटाउने अभियान थालेकोछ ।

गाउँपालिका भित्रका सबै फुसको घरमा जस्तापाता लगाएर पालिकालाई फुसको छानारहित बनाउने अभियान सुरु गरिएको गाउँपालिकाले जनाएको हो ।

खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीका अनुसार पहिलो चरण अन्र्तगत चालु आर्थिक वर्षमा १५७ घरधुरीमा फुसको छाना हटाएर टिनको छाना लगाइनेछ ।

यसका लागि गाउँपालिकाले केही समय अघि एक सूचना प्रकाशित गरेर टिनको छाना लगाउन चाहनेलाई आवेदन दिन आग्रह गरेकोमा १५७ परिवारले फुसको छाना हटाउन आवेदन दिएका छन् ।

Kids Festival 2022
kanti aarogya hospital

आवेदन दिएका परिवारलाई टिनको छाना लगाउनका लागि गाउँपालिकामा आएर सम्झौता गर्न जानकारी गराइएकोछ । यसका लागि खजुराले फुसको छाना हटाई टिनको छाना लगाउन ८० लाख रुपैयाँको बजेट छुट्टाएको छ ।

अभियान अन्तर्गत पहिलो चरणमा १५७ वटा घरमा टिनको छाना लगाउने गरी सहयोग गरिने गाउँपालिका अध्यक्ष डम्बर विक ‘तुफान’ले बताए ।

उनले वडा नम्बर १ बाट ५० परिवारको आवेदन आएकोमा सबैभन्दा पहिले सोही वडाका १६ परिवारलाई सम्झौताका लागि बोलाइएको बताए ।

सोही प्रकारले वडा नम्बर–२ बाट ११० वटा आवेदन परेकोमा २४ जनालाई, वडा नम्बर–३ बाट ६१ वटा आवेदन परेकोमा १८ जनालाई, वडा नम्बर–४ बाट ७२ जनाको आवेदन परेकोमा १८ जनालाई, वडा नम्बर–५ बाट ८३ जनाको आवेदन परेकोमा २० जनालाई, वडा नम्बर–६ बाट १५८ जनाको आवेदन परेकोमा २९ जनालाई, वडा नम्बर–७ बाट ६५ जनाको आवेदन परेकोमा १८ जनालाई, १८ गते र वडा नम्बर –८ बाट २४ जनाको आवेदन परेकोमा १३ जनालाई सम्झौताको लागि पालिकामा बोलाइएको छ ।

गाउँपालिकाका अध्यक्ष विकले यसपटक पालो नपाएकालाई अर्को वर्ष प्राथमिकतामा राखि पालिका भित्रका सबै घर फुसको छानामुक्त हुने बताए ।