उदयपुरमा ‘बहुउद्देश्यीय सेल्टर भवन’ बन्दै


उदयपुरमा ‘बहुउद्देश्यीय सेल्टर भवन’ बन्दै

नेपालगन्ज १३ बैशाख : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– १३ मा बहुउद्देश्यीय सेल्टर भवन बन्ने भएको छ ।

वडा नम्बर– १३ उदयपुरस्थित स्वास्थ्य चौकी भवन परिसरमा नगरप्रमुख प्रशान्त विष्टले बुधबार बहुउद्देश्यीय सेल्टर भवनको शिलान्यास गरे । आगामी एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी भवन शिलान्यास गरिएको हो ।

Kids Festival 2022
kanti aarogya hospital

एशियाली विकास बैंक (एडिबी) मार्फत जापानी संस्था जेएफपिआरको लागत अनुदानमा खानेपानी मन्त्रालय र नेपालगन्ज उपमहानगरपालिकाले बहुउद्देश्यीय सेल्टर भवन निर्माण गर्न लागेका हुन् । भवन निर्माणको जिम्मा सगरमाथा– विडारी जेभीले पाएको छ । करिब १ करोड ७९ लाखको लागतमा भवन बन्न लागेको हो ।

‘मिनी अस्पताल’ को अवधारणामा बन्न लागेको उक्त बहुउद्देश्यीय भवनमा अक्सिजन सिलिन्डरसहितको १६ बेड रहनेछ । कोभिड लगायत महामारी र विपतसंगै अन्य नियमित क्रियाकलापहरुमा प्रयोग गर्ने उद्देश्यसहित बहुउद्देश्यीय सेल्टर भवन बनाउन लागिएको नगर प्रमुख विष्टले बताए ।