शैक्षिक गुणस्तर बृद्धिमा कोहलपुर अग्रसर : १४ वटा विद्यालयका भवनहरु बन्दै


शैक्षिक गुणस्तर बृद्धिमा कोहलपुर अग्रसर : १४ वटा विद्यालयका भवनहरु बन्दै

नेपालगन्ज २२ वैशाख : बाँकेको कोहलपुर नगरपालिकाले चालु आर्थिक वर्षमा एकैपटक १४ वटा विद्यालयका भवन निर्माण गरिरहेकोछ । शिक्षालाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको कोहलपुर नगरपालिकामा दुई वटा विद्यालयका भवन निर्माण सम्पन्न भइसकेका छन्, भने अरु १२ वटा विद्यालयको भवन निर्माणाधीन अवस्थामा रहेको छ ।

कोहलपुर नगर शिक्षा तथा खेलकुद शाखा प्रमुख रामबहादुर हमालका अनुसार ती भवनहरु विशेष अनुदान, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम र नगरपालिकाले शिक्षा समन्वय र विल्डन नेपालसँगको सहयोगमा निर्माण भइरहेकोछ ।

कोहलपुर नगरपालिका–४ मा रहेको सगरमाथा ज्ञानपुञ्ज माविको ४ कोठे र कोहलपुर नगरपालिका–१४ मा रहेको राधाकृष्ण प्राथमिक विद्यालयको २ कोठे भवनको निर्माण कार्य भने पूरा भइसकेको छ ।

यस्तै कोहलपुर–१५ स्थित नेपाल राष्ट्रिय आभारभूत विद्यालय चन्नहवाको २ कोठे, चटारको ३ कोठे र नेपाल आधारभूत विद्यालय चौधरियाको २ कोठे, कोहलपुर–१४ स्थित सृजना बाल प्राविको ३ कोठे र हवलदारपुरस्थित राम माध्यामिक विद्यालयको ४ कोठे, कोहलपुर–१ को जन ज्ञानज्योति माविको ४ कोठे र कृष्ण माविको ४ कोठे भवनको निर्माण कार्य भइरहेको छ ।

Kids Festival 2022
kanti aarogya hospital

त्यसैगरी कोहलपुर–१० स्थित ज्ञानज्योति माविको ४ कोठे, कोहलपुर–२ स्थित लक्ष्मी माविको ८ कोठे, कोहलपुर–५ को सिद्धार्थ माविको ४ कोठे र कोहलपुर–९ को जनज्योति आधारभूत विद्यालयको ४ कोठे भवनको निर्माण कार्य पनि भइरहेको छ । कतिपय विद्यालयका भवनहरु जीर्ण अवस्थामा रहेका र कतिपय विद्यालयमा विद्यार्थीको चापको अनुपातमा भवन अभाव देखिएकाले आवश्यकता आधारमा भवन निर्माण भइरहेको नगर शिक्षा तथा खेलकुद शाखा प्रमुख हमालले बताए ।

विद्यालयको भौतिक पूर्वाधार सुधारसँगै जनशक्ति अभावलाई पनि नगरपालिकाले टार्ने प्रयास गरेको छ । शिक्षक अभाव भएका विद्यालयमा आवश्यकताका आधारमा नगरपालिकाले अनुदानमा ४१ जना शिक्षक राखेको छ ।

‘सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि भौतिक संरचनाले पनि ठूलो प्रभाव पार्छ’ हमालले अगाडी थपे–‘कम्तिमा पनि विद्यार्थीहरुले ढुक्क भएर पढ्न सक्ने संरचना हुन आवश्यक छ ।’

यता कोहलपुर नगरपालिकाले शिक्षालाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको भन्दै नगर प्रमुख पूर्ण प्रसाद आचार्यले शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न योजना बनाएर काम गरिरहेको जानकारी दिए ।

उनले कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम निर्माण भइसकेको र कक्षा १ देखि ३ सम्म पाठ्यपुस्तक पनि तयार भइसकेको जानकारी दिए । सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि मेरो विद्यालय मेरो जिम्मेवारीसम्मका कार्यक्रम लागू गरिएको भन्दै उनले शिक्षण स्वयमसेवक परिचालन गर्ने योजना रहेको समेत बताए ।

अहिले कोहलपुरका सम्पूर्ण सामुदायिक विद्यालय इन्टरनेटको पहुँचमा रहेको पनि बताए । ‘कुनै पनि विद्यालयमा अव हातले चिठी लेख्नु पर्ने अवस्था छैन उनले भने–‘विद्यालयलाई प्रविधिसँग जोड्ने हाम्रो अधिकतम प्रयास भइरहेको छ ।’ कोहलपुर नगरपालिकाले चालू आर्थिक वर्षमा शिक्षामा ६ करोड ३५ लाख बजेट विनियोजन गरेको छ ।

यस्तै सशर्त अनुदान तर्फ २१ करोड र मुख्य मन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ७० लाख बजेट रहेको कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिए । कोहलपुरमा ३० वटा सामुदायिक विद्यालय छन् भने ५६ वटा संस्थागत विद्यालय रहेका छन् ।