नेपालगन्ज २२ वैशाख : जल तथा मौसम विज्ञान विभागले यस वर्ष देशका अधिकांश स्थानमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको छ । यद्यपि यो सम्भावना स्थानपिच्छे फरक–फरक हुनेछ ।
विभागकी वरिष्ठ मौसमविद इन्दिरा कँडेलले पूर्व र मध्य नेपालका केही क्षेत्रबाहेक अन्य स्थानमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण गरिएको जानकारी दिइन् । उनका अनुसार आगामी मनसुन सिजनमा देशका अधिकांश स्थानहरुमा सरदर भन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत छ ।
यसअघि गत दुई वर्ष लगातार औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण विभागले गरेको थियो । तर, गत वर्ष औसतमै वर्षा भएको थियो । दशैंको बेलामा समेत वर्षा हुँदा जनजीवन प्रभावित भएको थियो ।
अघिल्ला तीन वर्ष लानिनाको प्रभाव थियो । तर, यस वर्ष अलनिनोको प्रभाव हुने सम्भावना रहेकाले वर्षा कम हुने प्रक्षेपण गरिएको मौसमविदको भनाइ छ । समुद्रको तापक्रम औसतभन्दा बढी हुनुलाई अलनिनो भनिन्छ । यसैको असर वायुमण्डलमा पर्दा वर्षा कम गराउँछ ।
यस्तै यस वर्ष अधिकतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ५५ प्रतिशत छ । त्यसैगरी न्यूनतम तापक्रम केही स्थानमा सरदर र केही स्थानमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ ।
धेरैजसो भू–भागमा न्यूनतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ भने सुदूरपश्चिम प्रदेशका मध्य भूभाग, कर्णाली प्रदेशका मध्य पश्चिमी भूभाग, गण्डकी र बागमती प्रदेशका उत्तरी भूभाग, लुम्बिनी प्रदेशको पूर्वी तथा पश्चिमी भूभाग र मधेश प्रदेशका पूर्वी भूभागमा सरदर हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मनसुन सिजनमा सामुद्रिक तापक्रम औसतभन्दा बढी भएर त्यसको असर वायुमण्डलमा पर्छ । यसको प्रभावले वर्षा कम गराउने मौसमविदको भनाइ छ । मनसुनको अवधि १८ जेठदेखि १३ असोजसम्म रहने अनुमान छ ।
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ