यो वर्ष ‘औसतभन्दा कम’ वर्षा हुने


यो वर्ष ‘औसतभन्दा कम’ वर्षा हुने

नेपालगन्ज २२ वैशाख : जल तथा मौसम विज्ञान विभागले यस वर्ष देशका अधिकांश स्थानमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको छ । यद्यपि यो सम्भावना स्थानपिच्छे फरक–फरक हुनेछ ।

विभागकी वरिष्ठ मौसमविद इन्दिरा कँडेलले पूर्व र मध्य नेपालका केही क्षेत्रबाहेक अन्य स्थानमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण गरिएको जानकारी दिइन् । उनका अनुसार आगामी मनसुन सिजनमा देशका अधिकांश स्थानहरुमा सरदर भन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत छ ।

यसअघि गत दुई वर्ष लगातार औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण विभागले गरेको थियो । तर, गत वर्ष औसतमै वर्षा भएको थियो । दशैंको बेलामा समेत वर्षा हुँदा जनजीवन प्रभावित भएको थियो ।

अघिल्ला तीन वर्ष लानिनाको प्रभाव थियो । तर, यस वर्ष अलनिनोको प्रभाव हुने सम्भावना रहेकाले वर्षा कम हुने प्रक्षेपण गरिएको मौसमविदको भनाइ छ । समुद्रको तापक्रम औसतभन्दा बढी हुनुलाई अलनिनो भनिन्छ । यसैको असर वायुमण्डलमा पर्दा वर्षा कम गराउँछ ।

Kids Festival 2022
kanti aarogya hospital

यस्तै यस वर्ष अधिकतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ५५ प्रतिशत छ । त्यसैगरी न्यूनतम तापक्रम केही स्थानमा सरदर र केही स्थानमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ ।

धेरैजसो भू–भागमा न्यूनतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ भने सुदूरपश्चिम प्रदेशका मध्य भूभाग, कर्णाली प्रदेशका मध्य पश्चिमी भूभाग, गण्डकी र बागमती प्रदेशका उत्तरी भूभाग, लुम्बिनी प्रदेशको पूर्वी तथा पश्चिमी भूभाग र मधेश प्रदेशका पूर्वी भूभागमा सरदर हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मनसुन सिजनमा सामुद्रिक तापक्रम औसतभन्दा बढी भएर त्यसको असर वायुमण्डलमा पर्छ । यसको प्रभावले वर्षा कम गराउने मौसमविदको भनाइ छ । मनसुनको अवधि १८ जेठदेखि १३ असोजसम्म रहने अनुमान छ ।