सडक सञ्जालले जोडिदै गँउबस्ती

चक्रपथ तुइयो, लिंकरोड निर्माण शूरु


सडक सञ्जालले जोडिदै गँउबस्ती

नेपालगन्ज : बाँकेको जानकी गाउँपालिकाले यसअघि गाउँपालिका भित्र चक्रपथ निर्माणको योजना अघि सारेको थियो । यसका लागि अध्ययन पनि गरिएको थियो ।  तर, गाउँपालिकामा चक्रपथ निर्माणका लागि सडक मापदण्ड अपुग देखिएपछि पालिकाको उक्त योजना गर्भमै तुईएको छ ।
चक्रपथ निर्माण योजना पुरा नहुँने देखिएपछि गाउँपालिकाले अहिले पालिका क्षेत्रमा लिकरोडको निर्माण अघि बढाएको छ । बाहिरी चक्रपथ निर्माणका लागि विस्तृत परियोजना प्रस्ताव (डीपीआर) तयार गर्ने लक्ष्य यसअघि रहेपनि रिङरोडको मापदण्डमा १२ मिटर चौडाईको सडक हुनुपर्ने भएकोले अहिलेलाई सडक लिकरोडका रुपमा निर्माण शुरू गरिएको गाउँपालिकाकाले जानकारी दिएको छ ।


सिक्टा सिचाई र स्थानीय जग्गाधनीले सडक निर्माण गर्न सात मिटर मात्रै छोड्न सहमत देखाएको र चक्रपथका लागि १२ मिटर चाहिने हुँदा अहिले चक्रपथको साटो लिकंरोड निर्माण अघि बढाईएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लोकबहादुर सुनारले बताए । यसैअनुरूप अहिले गाउँपालिकाले वडा कार्यालयसम्म पुग्ने सडकहरु स्तरोन्नती गर्दै बाहिरी सडकको पनि मर्मत अघि बढाएको छ उनले भने ‘अहिलेलाई चक्रपथ निर्माण रोक्नुको विकल्प छैन् ।’ गाउँपालिकाको वडा नं. ६ गनापुर स्थित पिप्रहवा चोकदेखि वडा नं. ४ खजुराखुर्दको नहरचोक जोड्ने लिकरोड निर्माण शुरू भएको उनले जानकारी दिए । नेपालगन्ज–गुलरिया हुलाकी सडकमा जोड्ने गरी सात मिटर फराकिलो र सात किलोमिटर लम्वाई रहने सडक निर्माण हुने प्रमुख प्रशासकीय अधिकृत सुनारले बताए ।


‘गनापुरको भित्रसम्म उद्योगहरु खुलेका छन, साँघुरो र कच्ची सडक भएका कारण मालवाहक सवारी साधन हिँड्न कठिनाई हुँदै आएको छ ।’–सुनारले भने ‘यो सडक निर्माणले गाउँपालिकामा रहेका उद्योगका सवारीसाधन आवागमनमा सजिलो हुनेछ ।’ गनापुरको पूर्वीक्षेत्रमा रहेका उद्योगहरुले नेपालगन्ज–कोहलपुर सडक प्रयोग गर्दै आए पनि पश्चिमतर्फ भित्रीभागमा रहेका उद्योगहरुलाई यो सडक निर्माण पछि सवारी साधन आवागमनमा सहज हुनेछ ।  सिक्टा सिँचाईको नहर समेत यहि सडकको किनारबाट निर्माण हुँदैछ । सिक्टाको नहरबाट तीन मिटर र स्थानीय जग्गधनीबाट ४ मिटर जमिन प्राप्त गरी ७ मिटर चौडाईको लिंकरोड निर्माण शुरू भएको उनले बताए ।

‘हामीले यो सडकलाई गाउँपालिकाको रिङरोडका रुपमा प्रस्ताव गरेका थियौँ, तर रिङरोडको मापदण्डमा १२ मिटर चौडाईको सडक हुनुपर्ने भएकोले अहिलेलाई लिकरोडका रुपमा निर्माण शुरू गरेका छौँ ।’–गाउँपालिका अध्यक्ष रामनिवास यादवले भने ‘हाम्रो अनुरोधमा सिक्टा सिचाई र स्थानीय जग्गाधनीले सडक निर्माण गर्न सात मिटर छोड्न सहमत भएको छ यो भन्दा फराकिलो बनाउन सकेनौँ ।’ गाउँपालिकाको करिव डेढ करोड रुपैया र संघीय सरकार सांसद विकास कोषको डेढ करोड गरी तीन करोडको लागतमा सात किलोमिटर लम्वाईको यो सडक निर्माण शुरू भएको प्रमुख प्रशासकीय अधिकृत सुनारले जानकारी दिए ।