दाङ। थारू समुदायका अगुवाहरूले यस वर्षको दसैंमा कात्तिक १ गते ढिक्री पूजा गर्ने निर्णय गरेका छन्। अष्टमी तिथिको अन्योलका कारण दसैं कुन दिन मनाउने भन्ने विषयमा द्विविधा उत्पन्न भएपछि शुक्रबार घोराहीमा भएको थारू अगुवाहरूको बृहत् छलफलले दसैं मनाउने तिथिमिति र विधि तय गरेको हो। त्यसमा पनि थारु समुदायकाे छुट्टै पात्राे नहुँदा यस्ता पर्वहरूमा अन्याेल हुने गरेकाे छ।
थारू अगुवा, मटाँवा, थारू पुर्खा, बुद्धिजीवी, देशबन्ध्या गुर्वा, घरगुर्वा, थारू अध्येता, पत्रकार तथा थारू कल्याणकारिणी सभाका प्रतिनिधिहरूको उपस्थितिमा भएको छलफलले दसैंको तिथि र परम्परागत विधिबारे साझा निष्कर्ष निकालेको हो।
मटाँवा,बरघर,भलमन्सा सङ्घ दाङका अध्यक्ष चन्द्रप्रसाद चौधरीको अध्यक्षतामा भएको छलफलमा थारू कल्याणकारिणी सभाका केन्द्रीय कोषाध्यक्ष चूर्णबहादुर चौधरीको विशेष उपस्थिति थियो। थारू समुदायमा दसैं मनाउने तिथि र विधिमा एकरूपता कायम गर्ने उद्देश्यले छलफल आयोजना गरिएको जनाइएको छ।
थारू कल्याणकारिणी सभाका केन्द्रीय कोषाध्यक्ष चूर्णबहादुर चौधरीका अनुसार असोज ९कुवाँर० २५ गते जमरा राख्ने, असोज ३१ गते पैनस्टोपी(ढक्या र गोन्द्री धुने तथा कात्तिक १ गते ढिक्री पूजा गर्ने निर्णय भएको छ। त्यसैगरी, कात्तिक २ गते पित्तर दिने, भुह्यारथानमा बर्कीमार लगाउने, जमरा र बेबरी लगाउने तथा मटाँवाको घरमा गउँल्या टीका लगाउने निर्णय गरिएको उनले बताए।
निर्णयअनुसार दसैं मनाउन थारू कल्याणकारिणी सभा, थारू मटाँवा, बरघर, भलमन्सा सङ्घलगायत थारू सङ्घसंस्थाले समुदायलाई आग्रह गरेका छन्। छलफलमा थारू कल्याणकारिणी सभाका केन्द्रीय कोषाध्यक्ष चौधरीले थारू समुदायको दसैंको महत्त्व, इतिहास र दर्शनबारे प्रकाश पार्नुभएको थियो। सहभागीहरूले थारू समुदायको मौलिक संस्कृति, परम्परा र धार्मिक विधिको संरक्षण गर्दै पुर्खादेखि चलिआएको चलनअनुसार दसैं मनाउनुपर्नेमा जोड दिएका थिए।
छलफलमा सभाका केन्द्रीय सचिवालय सदस्य भुवन चौधरी, केन्द्रीय सदस्य रामबहादुर दहित, मटाँवा सङ्घका बुझौना चौधरी, थारू संस्कृतिविद् बेझलाल चौधरी, थारू अध्येता डा। जर्मन चौधरी, लोकजन चौधरी र आशाराम चौधरी, सन्तोष दहित लगायतले धारणा राखेका थिए।
माछा मार्न गएकी पुस्पालाई गोहीले खायो, घर फर्किन लागेको मंगललाई चितुवाले लुछ्यो
बाँके, कैलाली र दाङलगायत देशभरि लागुऔसहित ३१ जना समातिए
भारतका चर्चित युट्यूबर ध्रुब राठी पक्राउ
लुम्बिनी र गण्डकीमा ‘सूचना महामार्ग’ बन्ने, २ अर्ब १ करोड रुपैयाँको सम्झौता
थारु समुदायमा दसैं: कात्तिक १ गते ‘ढिक्री पूजा’
सुर्खेतका जंगलमा भेटिए १८ नाल भरुवा बन्दुक