सुर्खेतका जंगलमा भेटिए १८ नाल भरुवा बन्दुक


सेतोखरी सेतोखरी   २१ घण्टा अगाडि
सुर्खेतका जंगलमा भेटिए १८ नाल भरुवा बन्दुक

नेपालगन्ज। सुर्खेतका विभिन्न जंगलहरूमा लुकाइछिपाइ राखिएका १८ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ।
विशेष सूचनाका आधारमा प्रहरीले चौकुने गाउँपालिका र बराहताल गाउँपालिकाका विभिन्न जंगलमा खोजतलास गर्दा ती बन्दुक फेला पारेको हो। 

इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक भुपेन्द्र शाहीको कमान्डमा खटिएको प्रहरी टोलीले चौकुने गाउँपालिका–७ सान्नेघारीस्थित जंगलबाट पाँच नाल भरुवा बन्दुक बरामद गरेको छ।

त्यस्तै, अस्थायी प्रहरी चौकी लगामबाट खटिएको टोलीले चौकुने गाउँपालिका–१ धामिसेनस्थित जंगलबाट १२ नाल र प्रहरी चौकी रानीघाटबाट खटिएको टोलीले बराहताल गाउँपालिका–१ ज्यामिरेस्थित जंगलबाट एक नाल भरुवा बन्दुक बरामद गरेको हो। 

प्रहरीका अनुसार तीन स्थानबाट बरामद गरिएका बन्दुक कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको छ । बरामद बन्दुक कसले र कुन प्रयोजनका लागि जंगलमा लुकाएर राखेको थियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।