रुकुम पश्चिमको आठबीसकोट नगरपालिका(३ का वडाअध्यक्ष पक्राउ र हिरासतमा कुटपिट भएका घटनामा रुकुम प्रहरी विवादमा तानिएको छ। हिरासतमा प्रहरीको कुटपिटबाट घाइते भएका वडाअध्यक्ष केशरमान बिकलाई थप उपचारका लागि सुर्खेत प्रदेश अस्पताल पुर्याइएको छ।
मंगलबार बिहान उनलाई प्रहरीले पक्राउ गरेको थियो। सोही दिन जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले उनलाई ३ दिनको म्याद थप गरेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको थियो। त्यसपछि हिरासतमा लगेर प्रहरीले उनलाई निर्घात कुटपिट गरेको आरोप आफन्तहरूले लगाएका छन्।
रुकुमपश्चिमका राजनीतिक दल र स्थानीयले जनप्रतिनिधिमाथि झुठा आरोप र प्रहरीले ज्यादती गरेको भन्दै त्यसको आलोचना गरेका छन्।
भएको के थियो?
जिल्ला प्रहरी कार्यालय रुकुमका अनुसार अभद्र व्यवहारसम्बन्धी जाहेरी परेका स्थानीय वीरेन्द्र भनिने गोपाल बिकलाई पक्राउ गर्नका लागि प्रहरीको एउटा टोली मुसिकोट(१ स्थित कालिका मन्दिरछेऊ पुगेको थियो। गोपाल केशरमानका भाइ हुन्। त्यही क्रममा केशरमान र प्रहरी टोलीबीच विवाद भएको थियो।
त्यसबेला प्रहरी टोलीसँग वादविवाद, गालीगलौज तथा हातपात गर्दै केशरमानले आफ्ना भाइ गोपाललाई भगाएको आरोप प्रहरीको छ। पछि प्रहरीले ‘अभद्र व्यवहार तथा राष्ट्रसेवक कर्मचारीको कर्तव्यमा बाधा पुर्याएको’ आरोपमा मुद्दा दर्ता गरी पक्राउ गर्न खोजेको थियो।
मंगलबार बिहान उनलाई प्रहरीले उनलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डीएसपी वेदप्रसाद पौडेलले पक्राउ परेका बिकमाथि हिरासतमा कुनै यातना नदिएको र कुटपिटसमेत नभएको दाबी गरेका छन्। उनले आफै भित्तामा ठोक्किएर घाइते भएपछि प्रहरीमाथि कुटपिटको आरोप लगाएकोसमेत दाबी गरे।
यसबीच, नेपाली कम्युनिस्ट पार्टीका जिल्ला संयोजक रोकाले प्रहरीको दाबी अस्वीकार गरेका छन्। उनले वडाध्यक्षमाथि कुटपिट नभएको प्रहरीको दाबी पुष्टि गर्न घटनास्थल तथा हिरासतको सिसिटिभी फुटेज सार्वजनिक गर्न माग गरेका छन्। बिक आठबिसकोट नगरपालिका–३ बाट दुई पटक वडाध्यक्ष निर्वाचित भएका हुन्। हिरासतमा कुटपिट भएको आरोप र प्रहरीले त्यसलाई अस्वीकार गरेपछि घटनाबारे निष्पक्ष छानबिनको माग उठेको छ।
पार्टीले वडाध्यक्ष बिकलाई छलफलका लागि भन्दै प्रहरी कार्यालयमा बोलाएर पक्राउ पुर्जीबिनै हिरासतमा राखी कुटपिट गरेको आरोप लगाएको छ। पार्टीले मंगलबार जारी गरेको विज्ञप्तिमार्फत बिकलाई तत्काल निःशर्त रिहा गर्न, निःशुल्क उपचारको व्यवस्था गर्न र कुटपिटमा संलग्न प्रहरीमाथि कानुनी कारबाही गर्न माग गरेको छ।
प्रहरीका अनुसार पक्राउ परेका वडाध्यक्ष केशरमानविरुद्ध यसअघि पनि अभद्र व्यवहार र ज्यान मार्ने उद्योगलगायतका मुद्दा दर्ता भएका थिए।
२०७६ पुस ३ गते आठबिसकोट नगरपालिकाको जाहेरीमा अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता भई जिल्ला प्रशासन कार्यालयको आदेशमा १० हजार रुपैयाँ धरौटीमा छुटेका थिए। त्यस्तै २०७७ असार ५ गते अमृते बोहरासहितको जाहेरीमा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दर्ता भएकोमा रुकुम जिल्ला अदालतको आदेशमा एक लाख रुपैयाँ धरौटीमा छुटेको प्रहरी अभिलेखमा उल्लेख छ।
यसैगरी २०७७ माघ ७ गते तारकबहादुर शाहीको जाहेरीमा अभद्र व्यवहारसम्बन्धी अर्को मुद्दा दर्ता भएकोमा जिल्ला प्रशासन कार्यालयको आदेशमा २४ हजार रुपैयाँ धरौटीमा छुटेको प्रहरीले जनाएको छ।
रुकुम पश्चिम : वडाअध्यक्षलाई हिरासतमै कुटपिट पछि विवादमा तानियो प्रहरी
काँग्रेस महाधिवेशन : यी हुने केन्द्रीय समितिमा भिड्ने उम्मेदवारहरू
गोकर्ण डाँगीसहित चारजना सर्वोच्चको न्यायाधीशमा सिफारिस
काँग्रेस महाधिवेशन: आज तेस्रो दिन के-के हुँदैछ?
बाँकेका आर्थिक मुद्दा लिएर सिंहदरबार पुगे अध्यक्ष ओली, राखे ३१ बुँदे माग
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)