नेपालगन्ज नाकाबाट घट्यो चामल र चिनी आयात

चार अर्ब रुपैयाँ कम मूल्यको चामल आयात हुदाँ चिनीमा करिब ४४ प्रतिशतले कमी


नेपालगन्ज नाकाबाट घट्यो चामल र चिनी आयात

नेपालगन्ज २६ वैशाख : विश्वव्यापी आर्थिक मन्दिका कारण नेपालगन्ज नाका भएर पछिल्लो समय चामल, चिनीलगायतको आयातमा कमी आएको छ । नेपालगन्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७८/७९ को साउनदेखि चैत मसान्तसम्म भन्दा चालु आर्थिक वर्ष २०७९/८० को साउनदेखि चैत मसान्तसम्म चामल आयातमा ५१ प्रतिशतले कमी भएको छ ।

भन्सारको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म एक लाख ४० हजार २८९ टन चामल आयात भएकोमा चालु आवको सोही अवधिमा ५२ हजार ३४९ टन मात्रै आयात भएको छ ।

नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी डिल्लुप्रसाद शर्माले दिएको जानकारी अनुसार गत वर्षमा सात अर्ब ९३ करोड ६० लाख रुपैयाँ मूल्यको चामल आयात भएकोमा चालु आवको सोही अवधिमा तीन अर्ब ८६ करोड ९९ लाख रुपैयाँ मूल्यको चामल मात्रै आयात भएको छ ।

अघिल्लो आवको तुलनामा करिब चार अर्ब रुपैयाँ कम मूल्यको चामल आयात भएको भन्सार कार्यालयले जनाएको छ । अघिल्लो आवमा ९४ करोड रुपैयाँ राजस्व सङ्कलन चामल आयातबाट भएकोमा चालु आवमा यसबाट करिब ४४ करोड रुपैयाँ मात्रै राजस्व सङ्कलन भएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

सूचना अधिकारी शर्माले भने,‘विश्वमा नै परिरहेको आर्थिक मन्दीको प्रभाव नेपालगन्जमा पनि परेको छ, जसका कारण भन्सारमा हुने आयात घटेको छ । चामललगायतका कृषिजन्य वस्तुको आयात कम हुनु स्वदेशी अर्थतन्त्रका लागि सुखद मानिन्छ ।’

यसैगरी नेपालगन्ज भन्सारबाट चालु आवको साउनदेखि चैत महिनासम्म चिनी आयातसमेत घटेको छ । भन्सार कार्यालयको तथ्याङ्क अनुसार जमुनाह नाका भएर भित्रिने चिनीमा करिब ४४ प्रतिशतले कमी भएको छ । गत वर्ष साउनदेखि चैत मसान्तसम्म ५१ हजार ८६६ टन चिनी आयात भएकोमा चालु आवको सोही समयमा २४ हजार ४३३ टन मात्रै चिनी आयात भएको छ ।

भन्सार कार्यालयले भारतबाट भित्रिने आलुको आयातसमेत घटेको जनाएको छ । आलुको आयात करिब २२ प्रतिशतले कमी आएको छ । यसैगरी तोरी, रायो, सस्र्युं र तिलको समेत आयातमा सामान्य कमी आएको भन्सार कार्यालयले जनाएको छ ।