गैरपत्रकारलाई सदस्य बनाएर ल्याउन खोजियो, आन्दोलन गर्ने चेतावनी


गैरपत्रकारलाई सदस्य बनाएर ल्याउन खोजियो, आन्दोलन गर्ने चेतावनी

नेपालगन्ज ४ जेठ : नेपाल पत्रकार महासंघ बाँकेमा १३ जना थप सदस्य स्थानान्तरण गरिएकोप्रति जिल्लास्थित विभिन्न आस्थागत संगठनले बिरोध जनाएका छन् ।

महासंघ केन्द्रले गत बैशाख २५ गते जिल्ला शाखा बाँकेको हाल कायम सदस्य संख्याभन्दा धेरै अर्थात १३ जना सदस्य थप गरेर पठाएको थियो । महासंघ बाँके शाखालाई बिहीबार संगठनका अध्यक्षहरुले संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाउँदै गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

गैरपत्रकारलाई सदस्य बनाएर ल्याउन खोजिएको जानकारी पाएपछि यसअघि गत पुषमा पनि प्रेस युनियन बाँके, प्रेस चौतारी लगायत संगठनले छुट्टा–छुट्टै ध्यानाकर्षण पत्र महासंघ बाँके शाखालाई बुझाएका थिए ।

‘नियोजित ढंगबाट काठमाण्डौंका एशोसिएट शाखाबाट हुलका–हुल सदस्य बाँके शाखामा स्थानान्तरण गरिएको बिषय बिवादित बनेको थियो, ती सदस्यलाई नेपाल पत्रकार महासंघ बाँके शाखाले अस्वीकार समेत गरेको अवस्था छ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ ‘गत पुष २३ गते सम्पन्न १३ औं साधारण सभामा समेत सामुहिक तरिकाले सदस्यता स्थानान्तरण गरेको लगायतका विषयको उठान भएपछि विवाद समाधानका लागि साधारणसभाले सर्बसम्मत रुपमा विवाद समाधान समिति गठन गरेको सर्बवितितै छ ।’

Kids Festival 2022
kanti aarogya hospital
add

जिल्लामा सदस्यताको बिषय बिवादित बनिरहेको अवस्थामा केन्द्रले १३ जना सदस्य थप गरी नाम सार्बजनिक गरेको कार्यले अचम्मित बनाएको ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन् ।

ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘देशभर उत्साहजनक तरिकाले सदस्यता शुद्धिकरण अभियान सञ्चालन भइरहेको परिप्रेक्ष्यमा बाँके जिल्लाका हकमा बिवादित बनेको बिषयलाई केन्द्र र प्रदेश समितिले जबरजस्ती थोपार्ने काम गरेको हाम्रो ठहर छ ।’ अतः बिवादित बनेका सदस्यहरुको नामावली हटाई तत्काल यसअघिको साधारणसभाले समेत पारित गरेका ३ सय २३ जना सदस्यहरुको मात्रै नामावली तत्काल सार्बजनिक गरी शुद्धिकरण अभियान, नयाँ सदस्यता वितरण र नवीकरण जस्ता कामहरु अघि बढाउन अनुरोध अनुरोध गरिएको छ ।

काठमाडौंका एशोसिएट शाखामा गैरपत्रकारलाई सहज तरिकाले सदस्यता दिने र एकमुष्ट रुपमा उनीहरुलाई जिल्ला शाखामा स्थानान्तरण गरेर महासंघ जिल्ला शाखालाई ‘भोट बैंक’ बनाउने जस्ता गतिबिधिलाई प्रोत्साहित नगर्न संगठनहरुले आह्वान पनि गरेका छन् । अन्यथा चरणबद्ध आन्दोलन गर्न बाध्य हुने चेतावनी दिइएको छ ।

पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, प्रेस चौतारीका अध्यक्ष दुर्गा रोकाय, प्रगतिशिल पत्रकार संघका जिल्ला संयोजक तिलक गाउँले र समाजवादी प्रेस संगठन बाँकेका अध्यक्ष लोकनाथ शर्माले उक्त ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

ध्यानाकर्षण पत्रमा पत्रकार महासंघ केन्द्रिय समिति र काठमाण्डौं र महासंघ लुम्बिनी प्रदेश समितिलाई बोधार्थ दिइएको छ ।

थप समाचार

गैर पत्रकारको सदस्यता र स्थानान्तरण रोक्न प्रेस युनियनको दवाव