राजतन्त्रको निशानी रत्नमन्दिर गणतन्त्र दिवसमा खुल्यो


राजतन्त्रको निशानी रत्नमन्दिर गणतन्त्र दिवसमा खुल्यो

पोखरा (कास्कि) १५ जेठ : देशमा गणतन्त्र आउनुपूर्व फेवाताल किनाराको रत्नमन्दिर परिसर एक छिन घोरिएर हेर्न पनि डराउनुपर्थ्यो । सवारीसाधन परिसरको मार्गमा रोक्न त पाइँदैनथ्यो नै नजानेर किनाराबाट पैदल हिँड्ने सर्वसाधारण पनि सुरक्षाकर्मीको गाली खाएपछि अर्को किनाराबाट हिँड्न बाध्य थिए । त्यही रत्नमन्दिर भित्र आज भने हुलकाहुल पोखरेली भित्रै पसेर फोटो र सेल्फी लिन व्यस्त देखिन्थे । गणतन्त्र स्थापनाको १५ वर्ष पूरा भएका अवसरमा पोखरेलीको वर्षौंदेखिको रत्नमन्दिर हेर्ने चाहना आज पूरा भएको छ ।

नेपाल ट्रष्टको कार्यालयले आजैदेखि सर्वसाधारणका लागि रत्नमन्दिर खुल्ला गरेको हो । पर्यटकीय नगरी पोखरामा पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले एक कार्यक्रमका बीच औपचारिक रुपमा सर्वसाधारणका लागि रत्नमन्दिर खुल्ला गरेका हुन् । गणतन्त्र स्थापना पश्चात पूर्वराजपरिवारको सम्पत्तिका रुपमा रहेको रत्नमन्दिर अहिले नेपाल ट्रष्टका नाममा छ । गणतन्त्रपछि रत्नमन्दिर खुल्ने विषयले पटकपटक चर्चा पाए पनि यो कार्यान्वयनमा आउन सकेको थिएन ।

फेवातालको किनारमा रहेको यो ऐतिहासिकस्थल करिब एक सय ७४ रोपनी क्षेत्रफलमा फैलिएको छ । तत्कालीन राजा महेन्द्रले आफ्नी रानी रत्नको नाममा विसं २०१३ मा निर्माण सुरु गरी २०१५ सालमा यसको निर्माण सम्पन्न भएको थियो । विगतमा यसको प्रयोग राजारानी, दरबारका विशिष्ट पाहुना पोखरा आउँदा बस्नुका साथै राजकीय निमन्त्रणामा आएका अतिविशिष्ट पाहुना बस्ने स्थलका रुपमा यस दरबारलाई लिइन्थ्यो ।

यस दरबारमा चीनका प्रधानमन्त्री, बेलायती महारानीलगायत अन्य विशिष्ट विदेशी पाहुनाको आगमन भएको र बास बसेको पाइन्छ । यस परिसरभित्र रत्नमन्दिर दरबारलगायत तालघर, बाग बगैँचा र अन्य प्रयोजनका साना ठूला गरी १० भवन छन् ।

Kids Festival 2022
kanti aarogya hospital

दरबारभित्र बैठक कक्ष, राजारानीको शयन कक्ष, शाही नातेदारले प्रयोग गर्ने शयन कक्ष, डाइनिङ कक्षलगायत ११ कोठा छन् । यहाँबाट फेवाताल, तालपारीको रानिवन र माथि विश्वशान्ति स्तूप, पुम्दीकोटलगायतका सुन्दर दृश्य एकसाथ अवलोकन गर्न सकिन्छ । रत्नमन्दिरमा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला पुगेको कुरा उनले आफ्नो आत्मवृत्तान्तमा उल्लेख गरेका छन्।

गणतन्त्र स्थापनापछि राजा वीरेन्द्र र राज परिवारका नाममा भएका सम्पूर्ण सम्पत्ति नेपाल ट्रष्टका नाममा ल्याउने सरकारी निर्णयपछि यो नेपाल ट्रष्टको स्वामित्वमा छ । तत्कालीन राजपरिवारका नारायणहिटीलगायतका दरबार गणतन्त्र आएपछि खुला भए पनि रत्नमन्दिर नखुल्दा पोखराका पर्यटन व्यवसायीले निरन्तर खुलाउन माग गर्दै आएका थिए ।

कार्यक्रममा मन्त्री किरातीले गणतन्त्रको उपहारस्वरुप रत्नमन्दिर सर्वसाधारणका लागि खुला गरिएको बताए । पर्यटकीय नगरी पोखरामा रहेको यस ऐतिहासिक सम्पदाको संरक्षणसँगै प्रवद्र्धन गरी अधिकतम उपयोग गरिनुपर्नेमा उनले जोड दिए । विसं २०१३ मा निर्मित यो सम्पदालाई तत्कालीन समयको समाजसँग तुलना गरेर हेर्नुपर्ने उनको भनाइ छ । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि अन्तर्राष्ट्रिय उडान हुन नसक्दा निराशा छाएको जनाउँदै उनले यसका लागि कूटनीतिकस्तरमा छलफल चलिरहेको बताए ।

चीनका सहरमा चाटर्ड उडान सुरु गर्ने तयारी भइरहेको जनाउँदै उनले पोखरामा चीन र भारतका सहरबाट सिधा उडान गरी विमानस्थलको सदुपयोग गर्नुपर्ने बताए । गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले यस ऐतिहासिक सम्पदाको संरक्षणसँगै व्यवस्थित सञ्चालनका लागि पोखरा महानगरपालिकालाई जिम्मा दिनुपर्ने आवश्यकता औँल्याए ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले रत्मन्दिर खुला गरिनुले पोखराको पर्यटनमा थप टेवा पुगेको बताए । हालका लागि रत्नमन्दिरका बाहिरी भाग खुला गरिएको उल्लेख गर्दै उनले भित्री भाग खुला गर्न कमजोर संरचनालगायतका कारण अझै केही समय लाग्ने बताए । रत्नमन्दिर परिसर अवलोकनका लागि प्रत्येक हप्ताको सोमबारबाहेक बिहान १० देखि साँझ ५ बजेसम्म समय निर्धारण गरिएको छ । आइतबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म खुला रहने व्यवस्था मिलाइएको छ ।

स्वदेशी नागरिकका लागि रु एक सय र विदेशीका लागि रु एक हजार टिकट शुल्क तोकिएको छ भने विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिका लागि रु ५० शुल्क निर्धारण गरिएको छ । कार्यालयको पूर्वस्वीकृति लिएर वृत्तचित्र तथा भिडियोग्राफी वापत प्रतिघण्टा रु पाँच हजार र व्यावसायिक भिडियोग्राफी वापत प्रतिघण्टा रु १० हजार शुल्क निर्धारण गरिएको छ ।

रत्नमन्दिर खुला हुनुले पोखरामा थप पर्यटकीय गतिविधि बढ्ने र उनीहरूको बसाइ लम्ब्याउन योगदान पुग्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ बताउँछन् । ‘रत्नमन्दिर खुलेसँगै आगामी दिनमा यो ऐतिहासिक सम्पदा हेर्नका लागि पनि देशका विभिन्न स्थानबाट पर्यटक आउनेछन्, यसले पोखरामा पर्यटकको आगमन बढाउनसमेत महत्वपूर्ण योगदान गर्नेछ’, उनले भने । -रासस