बार निर्वाचन : एक सय ८४ मत खस्यो, मतगणना कार्य सुरु

अध्यक्षका लागि दुई ‘चित्रबहादुर’बीच प्रतिस्प्रर्धा


बार निर्वाचन : एक सय ८४ मत खस्यो, मतगणना कार्य सुरु

नेपालगन्ज २० जेठ : उच्च अदालत बार एशोसियशन नयाँ नेतृत्व चयनका लागि शनिबार भएको मतदानमा कुल एक सय ८४ मत खसेको छ । उच्च अदालत बार एशोसियशनका कुल २ सय १४ मतदाता मध्ये एक सय ८४ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

नेपालगन्जस्थित जिल्ला अदालतको प्राङ्गणमा रहेको बार एशोसियशन भवनमा बिहान ८ बजेबाट सुरु भएको मतदान अपरान्ह ४ बजेसम्म चलेको थियो । अन्तिम मतदान ३ बजेर ५५ मिनेटमा वरिष्ठ अधिवक्ता सुशील लाखेले गरेका थिए । मतदान सम्पन्न भएसँगै मतगणना कार्य पनि सुरु भएको निर्वाचन समितिले जनाएको छ ।

दुई चित्रबहादुर बीचको प्रतिस्पर्धा

निर्वाचनका लागि ‘बृहत लोकतान्त्रिक, प्रगतिशील, समावेशी, पेशागत कानून ब्यवसायी समुह’ र ‘स्वतन्त्र, समावेशी, प्रगतिशील, अग्रगमणकारी देशभक्त लोकतान्त्रिक कानून ब्यवसायी’ समुह मैदानमा उत्रिएको छ । बार एशोसियशनमा आगामी दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न लागिएको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

बृहत लोकतान्त्रिक, प्रगतिशील, समावेशी, पेशागत कानून ब्यवसायी समुहका तर्फबाट अध्यक्ष पदमा अधिवक्ता चित्रबहादुर शाही र ‘स्वतन्त्र, समावेशी, प्रगतिशील, अग्रगमणकारी देशभक्त लोकतान्त्रिक कानून ब्यवसायी’ समुहबाट अध्यक्षमा अधिवक्ता चित्रबहादुर केसी प्रतिस्पर्धामा छन् ।

शाहीको समुहबाट उपाध्यक्ष पदमा तिर्थराज ज्ञवाली, सचिवमा गणेशप्रसाद शर्मा तथा सदस्यहरुमा सतिशचन्द्र थारु, रिजवान अहमद मिर्जा, जयराम थारु, बिरेन्द्रकुमार बस्नेत, हरिशचन्द्र सिजापति, जयराम जैसी, पूर्णप्रसाद ढकाल र हिराबहादुर श्रेष्ठले पनि प्रतिस्पर्धा गर्दैछन् ।

उक्त समुहबाट कोषाध्यक्ष पदको उम्मेदवार रहेका हरि सुवेदी र शान्ता पोखरेल सदस्य (महिला) भने यसअघि नै निर्विरोध निर्वाचित भईसकेका छन् । बृहत लोकतान्त्रिक, प्रगतिशील, समावेशी, पेशागत कानून ब्यवसायी समुहमा नेपाली काँग्रेस निकट डिएलए, एमाले निकट पिपिएलए, माओवादी केन्द्र सम्वद्ध आरपिएलए लगायत संगठनहरु आवद्ध छन् ।

‘स्वतन्त्र, समावेशी, प्रगतिशील, अग्रगमणकारी देशभक्त लोकतान्त्रिक कानून ब्यवसायी’ समुहमा जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लगायत अन्य पार्टी निकट एवम स्वतन्त्र कानुन ब्यवसायी आवद्ध रहेको बताइएको छ ।

केसीको समुहबाट उपाध्यक्ष पदमा अधिवक्ता ओमप्रसाद मानन्धर, सचिवमा अधिवक्ता कुम्भराज मिश्र र सदस्यमा अभिवक्ता रामसुन्दर बाहुन प्रतिस्पर्धामा छन् ।

दुई चित्रबहादुर बीचको प्रतिस्पर्धा निकै रोचक देखिएको कानून ब्यवसायी बताउँछन् । ‘संयोग नै मान्नुपर्छ बारको नयाँ नेतृत्वका लागि दुई जना अधिवक्ता ‘चित्रबहादुर’ बीच प्रतिस्पर्धा भइरहेको छ, यो प्रतिस्पर्धा रोचक देखिएको छ, दुई मध्ये एकलाई हामीले नेतृत्वमा पुर्याउनु नै छ,’ एक कानून ब्यवसायीले भने । उम्मेदवार केसी बारका वर्तमान उपाध्यक्ष हुन्, भने शाही बारका पुर्वसचिव हुन् ।