प्रतिस्पर्धा गर्न नसकरे पार्टी छाड्दैमा असर गर्दैन : सहमहामन्त्री राठौर

‘नेता कमजोर भएपछि जनता कमजोर हुन्छ’


प्रतिस्पर्धा गर्न नसकरे पार्टी छाड्दैमा असर गर्दैन : सहमहामन्त्री राठौर

नेपालगन्ज २० जेठ : नेपाली काँग्रेसका केन्द्रिय सहमहामन्त्री किशोरसिंह राठौरले पार्टीभित्र प्रतिस्पर्धा गर्न नसक्नेले पार्टी छाड्दैमा असर नगर्ने दावि गरेकाछन् । आन्तरिक प्रतिस्पर्धा गर्न नसक्नेले पार्टी छाड्न थालेको स्पष्ट पार्दै राठौरले भने –‘यसले नेपाली काँग्रेसलाई कुनै असर गर्दैन । पार्टीमा संघर्ष गर्नसक्नुपछ की त नेतृत्वसँग मिलेर अघि बढ्नुपर्छ ।’

पार्टीको भातृ संगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेशको जिल्ला अध्यक्षहरुको घोषणा तथा सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहेका सहमहामन्त्री राठौरले भने, ‘पार्टीभित्र संस्थापन हुन मलाई २० वर्ष लाग्यो, छोटो समयमै पार्टीभित्र अवसर खोज्नेहरु अवसरवादी हुन्, उनीहरुले पार्टी छाड्दैमा काँग्रेसलाई केही फरक पर्दैन ।’

७० वर्ष लामो ईतिहास भएको पार्टीमा धेरै नेता कार्यकर्ता रहेको र पार्टीभित्र मेहेनत गर्नेले अवसर पाउने उनको तर्क छ ।

पार्टीभित्र पछिल्लो समयमा अनुशासन हराउँदै गएको सहमहामन्त्री राठौरले बताए । विगतमा कृष्णप्रसाद भट्टराई चुनाव लड्दा पार्टीभित्र नेतादेखी कार्यकर्ताले अन्तरघात गरेको परीणाम स्वरुप अहिले अनुशासन हराएको उनको भनाई छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

‘पार्टीभित्र कसैले कसैलाई नमान्ने परिपाटीको विकास भएको छ, त्यसको समिक्षा हुनुपर्छ, त्यसैले हिजो नेताहरुले बोलेपछि अनुशासन हुन्थ्यो,’ राठौरले अगाडी भने ‘आज कसैले कसैलाई नटेर्ने अवस्थामा हामी पुगेका छौं, पार्टीभित्र अनुशासन कायम गर्नुपर्छ भनेर म हिजोदेखी नै बोल्दै आएको हो, जबसम्म पार्टीभित्र अनुशासन हुदैन, तबसम्म पार्टी अगाडी बढ्दैन ।’

पार्टीमा दुई जना युवा महामन्त्री रहेको र देशभरीका पार्टी कार्यकर्ताले विश्वास गरेको औल्याउँदै सहमहामन्त्री राठौरले भने, ‘अहिले गगन जीले भाषण गरेको सुन्छु, मैले १० वर्ष अगाडी भनेको थिए, तपाई युवाहरु देशभरी जानुस्, मेरो स्वास्थ्य ठिक छैन, १० वर्ष हामीलाई केही चाहिदैन, पार्टी बनाऔं भनेर प्रदिप जी, गगन जीहरुलाई भनेर भनेको थिए, त्यतिबेला उहाँहरुले मेरो कुरालाई बुझ्नु भएन, या त त्यसलाई नजर अन्दाज गर्नुभयो, र आज गगन जी बोल्दै हुनुहुन्छ, १० वर्षपछि कि हामीले एक्लै पार्टी बनाउनुपर्छ, म पनि त्यही पक्षमा हो, एक्लै पार्टी बनाउन सकिन्छ भने गठबन्धन किन गर्ने ?’ गठबन्धन त्यसै नभएको बताउँदै सहमहामन्त्री राठौंरले स्थानीय र प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन पछि पनि आफु पार्टी बनाउन लागिपरेको बताए ।

अर्को प्रसंगमा उनले २०४८ सालपछि आफुहरुले ल्याएको खुल्ला अर्थ नीतिले देश यहाँसम्म आईपुगेको दाबी गरे । काँग्रेसको खुल्ला अर्थ नीतिकै कारण मुलुकमा शिक्षा, स्वास्थ्य, सहकारी, यातायात, सञ्चार लगायत क्षेत्रको विकास भएको उनको जिकिर छ ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका केन्द्रीय सभापति ओमबहादुर घर्तीमगरले काँग्रेसका अन्य भातृ संगठन ‘भताभुंग’ भइरहेको अवस्थामा महासंघले ७७ वटै जिल्लामा संगठन विस्तार गरेको बताए ।

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले २०७८ चैत १५ गते आफुलाई महासंघको जिम्मेवारी दिए पश्चात तीन महिना भित्रमा केन्द्रिय समिति निर्माण गरेको बताए । ‘जहाँ की अरु भातृ संगठनले अध्यक्ष मात्रै लिएर बस्नु भएको छ, केन्द्रिय समिति निर्माण गर्ने क्रममा मैले धेरै नेताहरुबाट गाली खाए, यद्यपी केन्द्रिय समिति विस्तार गरे, हामीले ७ वटै प्रदेशका ७७ वटै जिल्लामा समिति विस्तार गरेका छौं ।’

लुम्बिनी प्रदेशका सांसद समेत रहेकी महासंघका केन्द्रीय सदस्य एवम् लुम्बिनी प्रदेश संयोजक माया पुनमगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस बर्दियाका सभापति अरुणप्रकाशसिंह राठौंर, काँग्रेस बाँकेका उपसभापति गोपालप्रसाद अधिकारी, लुम्बिनी प्रदेशका सांसद बादशाह कुर्मी, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली लगायतले सम्बोधन गरेका थिए ।

उक्त कार्यक्रममा नेपाली काँग्रेस बाँकेका पुर्वसभापति कृष्णमान श्रेष्ठ, पार्टीका लुम्बिनी प्रदेश सदस्य कृष्णा सापकोटा चौधरी, लुम्बिनी प्रदेशका सांसदहरु सञ्जुकुमारी चौधरी, सुशिला नेपाली (वादी), मिना सिद्धिकी, पार्टीका जिल्ला उपसभापति कृष्ण कार्की, नेपाल पत्रकार महासंघका पुर्वकेन्द्रीय उपाध्यक्ष हेमन्त कर्माचार्य, काँग्रेस बाँकेका सहसचिव बिनोद थारु, प्रवक्ता डिल्ली गिरी, क्षेत्र नम्बर ३ का सभापति मोहम्मद नक्की खाँ, पार्टीका महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका केन्द्रीय पदाधिकारी लगायत अतिथीको उपस्थिती रहेको थियो । सो क्रममा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका अध्यक्षहरुलाई केन्द्रीय अध्यक्ष घर्तीमगरले सपथ खुवाएका थिए ।