हुम्ला २५ जेठ : हिमाली जिल्ला हुम्लामा खाद्यान्नको अभाव देखिएको छ । जिल्ला खाद्य व्यवस्था समितिले दुुई पटक लिखित निर्णय गरेर थप कोटाको खाद्यान्न माग गर्दा पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खाद्यन्न थप नगर्दा जिल्लामा खाद्यान्न समस्या देखिएको हो । जिल्लामा खाद्यान्न अभाव हुनुका साथै जिल्लाबाट माग भएको थप १५ हजार क्विन्टल खाद्यान्न कोटामाथि लिमिटेडले हालसम्म सुनुवाइ नगर्दा समस्या भएको हो ।
हाल शाखाको गोदाममा तीन सय क्विन्टल खाद्यान्न मात्र मौज्दात रहेको र यसले सर्वसाधारणलाई बिक्री वितरण गर्न नसकिने अवस्था रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लाका प्रमुख कृष्ण अधिकारीले जानकारी दिए ।
जिल्लाको माग सुुनुुवाइ नगर्नु नै समस्याको मुख्य कारण भएको प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए ।
थप कोटा खाद्यान्न मागका लागि खाद्य व्यवस्था समितिले २०७८ मङ्सिर १८ गते र फागुुन २६ गते निर्णय गरेर सो खाद्यान्न माग गरेको थियो । बुधबार बसेको समितिको बैठकले पुनः थप कोटाको खाद्यान्न माग गरेको छ । यो सहित जिल्लाबाट तेस्रो पटक थप खाद्यान्न माग गरिएको हो । बर्सेनि लिमिटेडबाट थप कोटा खाद्यान्न स्वीकृत हुँदै आउने गरेको थियो ।
नेपालगञ्जबाट ढुवानी जिम्मा पाएको तारा एयर र सुर्खेतबाट ढुवानीको जिम्मा पाएको समिट एयरले समयमै खाद्यान्न ढुवानी नगर्दा पनि जिल्लामा समस्या देखिएको लिमिटेड सिमकोट शाखाका प्रमुख अधिकारीले बताए ।
चालु वर्ष नेपालगन्जबाट चार हजार क्विन्टल खाद्यान्न ढुवानी गर्नुपर्नेमा तारा एयरले अहिलेसम्म तीन सय क्विन्टल र सुर्खेतबाट समिट एयरले ६ हजार क्विन्टल खाद्यान्न ढुवानी गर्नुपर्नेमा तीन सय क्विन्टल नगरेको कारण समस्या देखिएको हो । दुुवै एयरलाइन्सलाई आफ्नो ढुवानी गर्ने जिम्माको खाद्यान्न तत्काल ढुवानी गर्न ताकेता गर्दा पनि अटेरी गर्ने गरेकाले सिमकोटस्थित गोदाममा खाद्यान्न मौज्दात न्यून भएको जनाइएको छ ।
ती एयरलाइन्सले नेपालगन्जबाट प्रतिकेजी रु एक सय ६० र सुर्खेतबाट प्रतिकेजी एक सय ५ मा ढुवानी गर्ने गरी लिमिटेडसँग सम्झौता गरेका थिए । गोदाममा खाद्यान्न तीन सय क्विन्टल मात्र मौज्दात छ । खाद्यान्न भइपरी आउने कार्यका लागि शाखाले बिक्री गर्दै आएको छ । खाद्यान्न मौज्दात नभएकै कारण एक महिनादेखि सर्वसाधारणका लागि खाद्यान्न बिक्री वितरणसमेत गरिएको छैन । एक पटक खाद्यान्न बिक्री गर्न तीन हजार क्विन्टल खाद्यान्न आवश्यक पर्ने जनाइएको छ । अब चालुु वर्षको खाद्यान्न ढुवानी भए पनि त्यसले बिक्री गर्न नसकिने अवस्था रहेकाले लिमिटेड केन्द्रले थप कोटा खाद्यान्न पठाउनैपर्ने बाध्यता देखिएको हो । -रासस
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ