तिनाउमा बगे ५ घर, कालीगण्डकीले २५ घर लग्यो


सेतोखरी सेतोखरी   ४१ मिनेट अगाडि
तिनाउमा बगे ५ घर, कालीगण्डकीले २५ घर लग्यो

नेपालगन्ज। उर्लिएको कालीगण्डीले पर्वतमा २५ घर बगाएको छ। पर्वत जलजला गाउँपालिका(८ स्थित फर्सेमा आइतबार बिहान करिब ८ बजे कालीगण्डकीको बाढी पसेको थियो। 

उक्त बस्तीमा रहेका ८० मध्ये २५ घर बगेको नेपाल प्रहरीले जनाएको छ। बाँकी घरहरू पनि जोखिममा रहेको प्रहरीले बताएको छ। 

बस्तीका सबैलाई सुरक्षित स्थानमा राखिएकाले मानवीय क्षति भने भएको छैन। बाटोमा पहिरो खसेका कारण अहिलेसम्म घटनास्थलमा प्रहरी पुग्न सकेको छैन। 

यसैबीच अविरल वर्षापछि तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका–११ स्थित टप मजुवा क्षेत्रमा दुई वटा घर बगाएको छ भने तीन वटा घरमा आंशिक क्षति पुगेको छ।

गए राति तिनाउ नदीको जलसतह सतर्कता तह पार गरेपछि आएको बाढीले स्थानीय दुर्गा बानियाँसहित उनका छिमेकीको घर पूर्ण रूपमा बगाएको हो। बाढीसँगै भएको नदी कटानका कारण नरेन्द्र दर्जी, सकिल मियाँ र अब्दुल अलीको घरमा समेत आंशिक क्षति पुगेको छ।

बाढीबाट घरमा क्षति भएपछि प्रभावित परिवारलाई स्थानीय जनप्रतिनिधि तथा सुरक्षाकर्मीको टोलीले तत्काल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार जोखिममा रहेका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सारेर आवश्यक राहत तथा अस्थायी आश्रयको व्यवस्था गरिएको छ।

तिनाउ नदीको जलसतह बढ्दै गएपछि स्थानीय प्रशासन तथा जल तथा मौसम विज्ञान विभागले नदी किनार, तटीय क्षेत्र र होचा भूभागमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन तथा सुरक्षित स्थानमा जान आग्रह गरेको थियो। सोहीअनुसार जोखिमयुक्त क्षेत्रमा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने काम जारी रहेको जनप्रतिनिधिले बताएका छन्।