मर्मतका सामाग्री नेपालगन्जमै थन्किए, हुम्ला २१ दिनदेखि बिजुलीबिहीन 


सेतोखरी सेतोखरी   १ घण्टा अगाडि
मर्मतका सामाग्री नेपालगन्जमै थन्किए, हुम्ला २१ दिनदेखि बिजुलीबिहीन 

नेपालगन्ज। स्थानीय विद्युत प्रणालीहरू बिग्रिएपछि हुम्ला जिल्ला २१ दिनदेखि बिजुलीबिहीन भएको छ। यहाँ राष्ट्रिय प्रशारण लाइन अझै पुगेको छैन।

जसका कारण सिङ्गै जिल्ला स्थानीय विद्युत प्रणालीमै उज्यालिएको थियो। तर यहाँको हेल्दुम विद्युत् वितरण केन्द्रमा खराबी आएपछि २१ दिनदेखि विद्युत् सेवा अवरुद्ध छ। 

विद्युत आपूर्ति बन्द हुँदा जिल्लामा सञ्चार नेटवर्क, विद्यार्थीको पढाइ, खानेपानी तथा सरकारी र निजी कार्यालय तथा व्यवसयासमेत प्रभावित हुन थालेका छन्। विद्युत नहुँदा टेलिकमका टावरहरूले पनि काम गर्न छोडेका छन्।

केही स्थानियले अहिले पनि सोलारबाट काम चलाइरहेका छन्। केही सरकारी कार्यालयहरूमा पनि सोलार राखिएका छन्। तर अधिकांश विद्युतकै भरमा थिए। सोलार जोडिएका ठाउँमा पनि हिमपात भइरहेका कारण सोलार प्रणाली पनि नियमित हुन सकेका छैनन्। 

हुम्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईका अनुसार विद्युत् वितरण केन्द्र मर्मतका लागि आवश्यक सामग्री नेपालगञ्जमै थन्किएका छन्। नियमित हवाई उडान नहुँदा ती सामग्रीहरू नेपालगन्जमै थन्किएको उनले बताए। 

ती सामग्रीहरू हुम्लामा पुगे पनि विद्युत सेवा नियमित हुन दश दिनभन्दा धेरै लाग्छ।