‘बैजनाथलाई समृद्ध बनाउने गरी नीति तथा बजेट बनाउँछौं’ : अध्यक्ष शाही


‘बैजनाथलाई समृद्ध बनाउने गरी नीति तथा बजेट बनाउँछौं’ : अध्यक्ष शाही

बाँके (बैजनाथ) ३१ जेठः बैजनाथ गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि नीति तथा कार्यक्रम र बजेट निर्माणबारे सरोकारवालासँग सुझाव संकलन गरिएको छ । गाउँपालिका कार्यालय रामपुरमा मंगलबार एक कार्यक्रमका बीच सुझाव संकलन गरिएको हो ।

गाउँपालिकाको समृद्धि र विकासका लागि कृषिलाई बढी जोड दिनुपर्ने सरोकारवालाको सुझाव छ । यस्तै शिक्षा, स्वास्थ्य, पुर्वाधार, पर्यटन लगायत विषयलाई प्राथमिकतामा राख्नुपर्ने पनि सुझाव दिइएको छ ।

सो क्रममा नेपाली काँग्रेस बैजनाथ गाउँपालिका सभापति देवबहादुर केसी, नेकपा माओवादी केन्द्रका जयबहादुर बिक, राष्ट्रिय स्वतन्त्र पार्टीका धनबहादुर बस्नेत, नागरिक उन्मुक्ती पार्टीका चन्तराम थारु लगायत विभिन्न वडाबाट उपस्थित भएका अगुवा, सरोकारवाला लगायतले सुझाव दिए । उपस्थित सरोकारवालाले कार्यक्रममा दिइएको सुझावलाई कार्यान्वयन गर्नुपर्ने बताए ।

Kids Festival 2022
kanti aarogya hospital

सरोकारवालाहरुको सुझाव पश्चात गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले सबैको सल्लाह, सुझावलाई समेटेर नीति तथा कार्यक्रम र बजेट बनाउने बताए । बैजनाथमा करिव ७० प्रतिशत घरधुरी कृषि पेशामा निर्भर रहेकाले गाउँपालिकाले किसानसँग पालिका प्रमुख कार्यक्रम सञ्चालन गरेको प्रष्ट्याए ।

चालु आर्थिक वर्षमा किसानसँग पालिका प्रमुख कार्यक्रम कार्यान्वयनमा आईसकेको र आगामी बजेटबाट पनि उक्त कार्यक्रम सञ्चालन गरिने बताए । गाउँपालिकालाई समृद्ध बनाउने गरी उत्पादन मूलक र उपलब्धी मुलक कुरालाई नीति तथा कार्यक्रम र बजेटमा समेटिने बताए ।

गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले सबैबाट आएका सुझावलाई समेट्ने गरि कार्यक्रम ल्याउने बताइन् । ‘यसपटक हामीले सबैसँग सुझाव लिएर नीति तथा कार्यक्रम र बजेट बनाउँदैछौं, यहाँहरुले दिनु भएको सुझावलाई हामी समेट्ने प्रयास गर्नेछौं,’ उनले भनिन् ।

सो क्रममा प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, विभिन्न शाखा प्रमुख, बैजनाथको १ देखी ८ वटै वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्य, सञ्चारकर्मी, सरोकारवाला लगायतको उपस्थिती रहेको थियो ।