पश्चिम तराईमा तातो हावा, पुर्वी नेपालमा बाढी र पहिरो


पश्चिम तराईमा तातो हावा, पुर्वी नेपालमा बाढी र पहिरो

नेपालगन्ज १ असार : नेपालमा मनसुनी प्रणाली भित्रिएको तीन दिन वितिसक्दा पनि पश्चिम नेपालसम्म फैलिन सकेको छैन । यतिबेला पूर्वी नेपालमा भौतिक संरचनामा क्षति पुग्ने गरी वर्षा र बाढी आउँदा पश्चिम तराईका जिल्लामा भने तातो हावा र लू चलेकोछ ।

नेपालमा यस वर्षको मनसुन गत जुन १४ तारिखमा भित्रिएको थियो । यतिबेला यो पूर्व र मध्य नेपालमा केन्द्रित छ । तर, पश्चिमतर्फ सर्न सकेको छैन । मौसमविद सन्जिव अधिकारीका अनुसार पश्चिम नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायम छ । त्यसले मनसुनी प्रणालीलाई फैलिन रोकिरहेको छ । जसले गर्दा मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका जिल्लाहरुमा अत्यधिक गर्मी कायम छ ।

‘तराईका जिल्लामा अझै केही दिन गर्मी नै हुने देखिन्छ,’ मौसमविद अधिकारी अगाडी भन्छन्, ‘पूर्वी तराईमा थोरै कम भए पनि पश्चिम तराईमा तातो हावा वा लू को अवस्था छ ।’

बिहीबार सबैभन्दा धेरै अधिकतम तापक्रम रुपन्देहीको भैरहवामा ४३.३ डिग्री सेल्सियस मापन भएको थियो । बाराको सिमरा र बाँकेको नेपालगन्जमा समान ४१, कैलालीको धनगढीमा ३९.७, डोटीको दिपायलमा ३९.५, सुर्खेतको वीरेन्द्रनगरमा ३८.७ र दाङको घोराहीमा ३८.१ डिग्री सेल्सियस मापन भएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

मौसमविद विनोद पोख्रेलका अनुसार तराईका अधिकांश भूभागमा कम्तिमा ३–४ दिनसम्म सुक्खा हुने पूर्वानुमान छ । मध्यपहाडी, पूर्वी र मध्य क्षेत्रहरुमा भने हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुनमा महाशाखाका मौसमविद सन्जिव अधिकारीका अनुसार अहिले मनुसन कोशी प्रदेश र त्यस आसपासमा मात्र सक्रिय छ ।

गत २४ घण्टामा ताप्लेजुङमा सबैभन्दा धेरै ३१.६ मिलिमिटर वर्षा भएको रेकर्ड छ । वर्षापछिको बाढी–पहिरोले ताप्लेजुङका सिदिङवा र सिरिजंगामा पुल, घर लगायतका संरचनामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यतिबेला देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही कोशी, गण्डकी र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति भने कोशी, बागमती, गण्डकी र मधेस प्रदेशका केही भू–भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका मध्य तथा पश्चिम तराईका भू–भागहरूमा अत्यधिक गर्मी हुने सम्भावना यथावत् रहेको महाशाखाले जनाएको छ ।