ट्रेड युनियन काँग्रेस महाधिवेशन : अध्यक्षमा महेन्द्र र योगेन्द्र भिड्दै


ट्रेड युनियन काँग्रेस महाधिवेशन : अध्यक्षमा महेन्द्र र योगेन्द्र भिड्दै

नेपालगन्ज ५ असार : नेपाली काँग्रेस निकट ट्रेड युनियन काँग्रेसको अध्यक्षका लागि महेन्द्र यादव र योगेन्द्र कुवँरबीच प्रतिस्पर्धा हुने भएकोछ ।

ट्रेड युनियन काँग्रेसको सोमबारदेखि काठमाडौंमा सुरु भएको ७ औं महाधिवेशनका लागि पार्टीका दुई पक्षले प्यानल खडा गरेका छन् । संस्थापन पक्षले योगेन्द्र कुँवरको नेतृत्वमा प्यानल बनाएको छ भने संस्थापनइतरले महेन्द्र यादवलाई अघि सारेको छ ।

कुँवर वर्तमान समितिमा महासचिव छन् । संस्थापनइतर समूहबाट अघिल्लो महाधिवेशनमा महासचिव जितेका उनले समूह फेरेर संस्थापनमा गएर अध्यक्षका लागि उम्मेदवारी दिएका छन् । शेखर–गगन समूहबाट अध्यक्षमा उम्मेदवारी दिएका यादव वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष हुन् ।

कुवँर प्यानलबाट वरिष्ठ उपाध्यक्षमा अयोध्याप्रसाद यादव उम्मेदवार बन्ने भएका छन् । अर्को पक्षले उक्त पदमा तेजेन्द्रजंग कार्कीलाई उम्मेदवारब बनाएको छ । संस्थापन पक्षले महिला उपाध्यक्षमा भगवती खड्कालाई अघि सारेको छ । संस्थापनइतरले महिला उपाध्यक्षमा राधिका कुँइकेल प्रतिस्पर्धी बनाएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

महासचिवमा संस्थापन पक्षले डिपी अर्याल र शेखर–गगन पक्षले अजयकुमार राईलाई उम्मेदवार बनाएको छ । संस्थापनइतरबाट खुला उपाध्यक्ष तर्फ गणेशबहादुर केसी र ज्योती कोइरालालाई उम्मेदवार बनेका छन् ।

४९ सदस्यीय निर्वाचित कार्यसमितिका लागि थप उम्मेदवारको नाम टुंगो लाग्न बाँकी रहेको महासचिवका उम्मेदवार अजयकुमार राईले जानकारी दिए । सोमबार देखि सुरु भएको महाधिवेशनको मतदान बुधबार (भोलि) हुनेछ । पार्टीका कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले सोमबार महाधिवेशनको उद्घाटन गरेका थिए ।

महाधिवेशनका लागि ४९० प्रतिनिधि सहभागी भएका छन् । प्रतिनिधि केन्द्रीय समितिको अतिरिक्त महिला र युवा समिति पनि चयन गर्नेछन् । महिला र युवा समितिका लागि छुट्टै मतदान हुने व्यवस्था छ । ती दुई समितिमा १३/१३ जना निर्वाचित हुनेछन् । कार्यसमितिको पदावधि चार वर्षको हुनेछ । अघिल्लो महाधिवेशनमा संस्थापनइतरका उम्मेदवारले मूल नेतृत्व सहित अधिकांश पदमा जितेका थिए ।