वाटरपार्कको समानान्तर बसपार्क तीन दिनभित्र हटाउन ज्ञापनपत्र


सेतोखरी सेतोखरी   सोमबार, चैत २६, २०८०
वाटरपार्कको समानान्तर बसपार्क तीन दिनभित्र हटाउन ज्ञापनपत्र

नेपालगन्ज २६ चैत्र : आर्थिक दुरासाय राखि अबैधानिकरुपमा वाटरपार्कको गेटमा सञ्चालित समानान्तर बसपार्क तीनदिन भित्र हटाउन माग राख्दै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल र नगरप्रमुख प्रशान्त विष्टलाई ज्ञापन पत्र बुझाइएकोछ । 

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–४ बसपार्क क्षेत्रका व्यावसायीहरुले उक्त माग राख्दै बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेल र नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख विष्टलाई उक्त ज्ञापन पत्र बुझाएका हुन् । 

नेपालगन्ज बसपार्कबाट सम्पूर्ण सवारीसाधन सञ्चालन हुनुपर्ने, वाटरपार्कको समानान्तर बसपार्क हटाउनुपर्ने, लागुऔषधको विक्रीवितरण, प्रयोग गराई हुने यौन शोषण र चोरीका घटना बढ्दै गएको सहितका माग राख्दै व्यवसायीले प्रमुख जिल्ला अधिकारी पोखरेल र नगरप्रमुख विष्ट समक्ष सोमबार उक्त ज्ञापनपत्र बुझाउँदै आफ्ना माग पुरा नभए कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिएकाछन् । 

बसपार्क वरिपरि व्यवसाय गरेर बसेका करिब १ सय ५० जना व्यवसायीको हस्ताक्षरसहितको विभिन्न १० बुँदे मागसहितको ज्ञापनपत्र प्रजिअ पोखरेलसमक्ष बुझाइएको स्थानीय व्यवसायी रमेश कार्कीले जानकारी दिए ।
नेपालगन्ज उपमहानगरपालिका –४ मा अत्याधुनिक बसपार्क निर्माण गरी सञ्चालनमा आएता पनि यसको प्रभावकारी कार्यान्वयन र व्यवस्थापनमा उपमहानगरपालिका, प्रहरी प्रशासनको उदासिनताले बसपार्क क्षेत्र अस्तव्यस्त बनेको उनीहरुको ठम्याईछ ।

Kids Festival 2022
kanti aarogya hospital

केही यातायात व्यवसायीको लापरबाही तथा सम्बन्धित सरोकारवाला निकायले प्रभावकारी अनुगमन तथा नियमन नभएका कारण पुष्पलाल चोकस्थित सुशील कोइराला पार्क (वाटरपार्क)को प्रवेशद्वारबाट समानान्तर बसपार्क निर्माण गरी सवारी साधन त्यहीँबाट सञ्चालन गर्दा एकिकृत रुपमा बसपार्कबाट यातायात सञ्चालन हुन नसकेको र बसपार्क क्षेत्रका व्यवसाय धरापमा परेको उनीहरुले बताए । 

नेपालगन्जबाट सञ्चालित लामो तथा छोटो दूरीका सार्वजनिक यातायातका साधनहरु बसपार्कबाटै छुटाउनु पर्ने तथा जहाँ पायो त्यहीँबाट यात्रु चढाउने ओराल्ने कामलाई पूर्णरुपमा बन्द गरिनुपर्ने व्यवसायी गौतम थापाको भनाइ छ ।

भारतका विभिन्न सहर जाने आउने गाडीका यात्रुलाई बसपार्कमा आउन नदिइ मुख्य सडकका केही होटल व्यवसायीले दादागिरी शैलिमा गाडीलाई आफ्नो होटल अगाडि रोक्न लगाउने र यात्रु ओराल्ने काम गरिरहेको उनले बताए ।

ज्ञापनपत्र बुझ्दै प्रजिअ पोखरेलले प्रशासनको तर्फबाट सहरलाई सुरक्षित तथा सुन्दर बनाउन सदैव तयार रहेको र यस खालका विषयमा स्थानीय सरकारले नै नेतृत्व गर्नुपर्ने, सम्बन्धित सबै सरोकारवालासँग सामूहिक छलफल गर्नुपर्ने र एकीकृत रुपमा मिलेर काम गरेपछि मात्र परिणाम आउने बताए ।

gyapanpatra_buspark_21712586863.jpg

ज्ञापनपत्रमा उल्लेख मागहरु

१. नेपालगन्जबाट सञ्चालित लामो तथा छोटो दुरीका (सम्पूर्ण समितिद्वारा सञ्चालित) सार्वजनकि यातायताका सम्पूर्ण साधानहरु बसपार्कबाट नै छुट्ने र त्यही आउने कार्यलाई प्रभावकारी बनाउने । जहाँ पायो त्यहीँ यात्रु चढाउने र ओराल्ने काम पूर्णतया बन्द गर्ने । 
२. आर्थिक दुरासाय राखी अबैधानिक रुपमा वाटरपार्कको गेटमा सञ्चालित समानान्तर बसपार्क ३ दिन भित्र तुरुन्त हटाउने उक्त कार्यमा संलग्न ब्यक्ति समूहलाई कानूनी दायरामा ल्याई कारबाही गर्नुपर्ने । 
३. भारतका विभिन्न शहर जाने र आउने गाडीका प्यासेन्जरहरुलाई बसपार्कमा आउन नदिई होटेल ब्यवसायीहरुले दादागिरी शैलीमा गाडीलाई आफ्नो होटेल अगाडी रोक्न लगाउने र यात्रु ओराल्ने काम भैराखेको हुनाले सो कार्यको अनुगमन गरी बसपार्क नपुगी कुनै पनि यात्रु नओराल्ने र त्यस्ता कार्यमा संलग्न जोकाहीलाई पनि कारबाही गर्ने । साथै भारत सरकाबाट सञ्चालित गाडीलाई यही बसपार्कबाट छुट्ने व्यवस्था मिलाउने । 
४. विभिन्न टुर्स एण्ड ट्राभल्सका नाममा होटेल होटेलमा बोर्ड राखी यात्रुहरुलाई ठग्ने अलपत्र पार्ने र यातायता व्यवसायलाई अव्यवस्थित, अमर्यादित साथै ट्राफिक व्यवस्थापनमा चुनौती हुने खालका गतिविधि गरेको पाइएकोले  सो विषयमा संयुक्तरुपमा अनुगमन गरि प्रचलित कानूअनुरुप गर्ने गराउने । 
५. नेपाल सरकाले तोकेको मापदण्ड बमोजिम दर्ता नगरी सञ्चालन गरेका व्यवसायहरुलाई नेपालगन्ज उद्योग वाणिज्य संघसमेत सँगको सहकार्यमा वडा र टोलमा दर्ता तथा नविकरण शिविर गरेर दर्ता र नविकरण अनिवार्य गराउने । 
६. सडक पेटीका र पुरै शरीरमा झुण्ड्याएर (चस्मा, घडी, एअरफोन, पर्स, बेल्ट, तन्ना, मिठाई, माछा–मासु, पुरी, समोसा, पकौडा लगायतका समानहरु) होटेल होटेलमा गई गरिने व्यापार पूर्णरुपमा बन्द र त्यस्ता कार्यमा संलग्नलाई कारबाहीको दायरामा ल्याई करबाही गरिनुपर्ने । 
७. बसपार्क र वाईपास क्षेत्रमा सञ्चालित केही होटेल तथा रेष्टुरेन्टहरुमा लागु पदार्थको विक्रीवितरण, प्रयोग गरि गराई युवतीहरुको यौन शोषण गर्ने गरेको सुन्नमा आएकोले शिघ्र अनुसन्धान गरि कारबाही गर्ने । 
८. हालका दिनमा बाईपास रोड, न्यूरोड, वाटरपार्क र कारकाँदो चोक वरिपरी चोरीका घटना बढी रहेकाले नियमित प्रहरी गस्ती गर्ने व्यवस्था मिलाउने । 
९. व्यापार मेला र मोहत्सव आयोजन ागर्ने भन्दै स्थानीय संस्थाको नाम भजाएर भारतीयहरुलाई ठेक्का दिने र स्वदेशको ठूलो धनराशी भारत पठाउने खेल तुरुन्त रोक्ने । यस्ता खालका मेला आयोजन ागर्न स्वीकृति नदिने । 
१०. नगरका सबै सडकमा सडक बत्ति र सिसिटिभि जडान गरी नियमित मर्मतसंभार गर्ने व्यवस्था मिलाउने साथै बसपार्क सरसपाईको प्रबन्ध मिलाउने ।