भाडा नबुझाउने ५ सटरमा ताला, तीन वर्षदेखि करिब २२ लाख उठेन


सेतोखरी सेतोखरी   शुक्रबार, वैशाख ७, २०८१
भाडा नबुझाउने ५ सटरमा ताला, तीन वर्षदेखि करिब २२ लाख उठेन

नेपालगन्ज ७ वैशाख : तीन वर्षदेखि सटर भाडा बुझाउन अटेरी गर्ने पाँच सटरमा नेपालगन्ज उपमहानगरपालिकाले ताला लगाएकोछ । नेपालगन्ज उपमहानगरपालिका सटर भाडामा लिएर सटर भाडा बुझाउन तीन वर्षदेखि अटेरी गर्ने पाँच सटरमा ताला लगाइएको हो । 

उपमहानगरपालिकाको उक्त पाँच वटा सटरबाट करिब २१ लाख ८५ हजार रकम राजस्व उठाउन बाँकी रहेको छ । नेपालगन्ज उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, राजश्व शाखाका कर्मचारी, नेपाल प्रहरी, नगर प्रहरी, पसलका प्रतिनिधिहरूको उपस्थितिमा सटरमा ताला लगाइएको हो । 

Kids Festival 2022
kanti aarogya hospital

ताला लगाइएका सटर धनीहरूलाई आफूले बुझाउन बाँकी रहेको रकम सात दिन भित्र बुझाउन समय दिएको राजश्व शाखाका अधिकृत दीपेन्द्र श्रेष्ठले जानकारी दिए । उनले भने, ‘सटरको राजस्व बुझाउन आनाकानी गर्ने, भाडा नबुझाउने सटरलाई सुरुमा कारबाही गरिएको हो । सात दिन भित्र उहाँहरूले तिर्नुपर्ने राजस्व बुझाउनु भयो भने ताला खोलिन्छ । तर सात दिनभित्र रकम नबुझाएको अवस्थामा नेपाल सरकारको प्रचलित कानुन अनुसार प्रक्रिया अगाडि बढाइन्छ ।’

नगरपालिकाले निर्माण गरेका सटर भाडा लिएकाहरूले तीन वर्षदेखि उपमहानगरलाई भाडा बुझाएका छैनन् । भाडा नबुझाउने सटरहरूको सङ्ख्या बढ्दै गएपछि उपमहानगरले कडाइ गर्दै गएको छ । यसअघि पनि समयमै भाडा नबुझाउने सटरधनीहरुलाई पटक–पटक पत्राचार गरिए पनि उनीहरूले शुल्क बुझाउन अटेरी गरेको अधिकृत श्रेष्ठको भनाइ छ ।