मधेस आन्दोलनमा ढालिएको गिरिजाप्रसाद कोइरालाको सालिक फेरि ठड्याइयो


सेतोखरी सेतोखरी   शुक्रबार, जेठ १८, २०८१
मधेस आन्दोलनमा ढालिएको गिरिजाप्रसाद कोइरालाको सालिक फेरि ठड्याइयो

पर्सा १८ जेठ : वीरगञ्ज महानगरपालिका–२, इदगाहचोकमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पूर्णकदको सालिक पुनः स्थापना गरिएको छ । 

नेपाली काँग्रेस क्षेत्र नम्बर–२ पर्साका सभापति तथा जिपी कोइराला फाउन्डेसनका मधेस प्रदेश अध्यक्ष महम्मद साहबुद्दिनले मधेस आन्दोलनका क्रममा भत्काइएको सालिक भएकै ठाउँमा स्वर्गीय कोइरालाको नयाँ सालिक निर्माण गरेर पुनःस्थापना गरिएको जानकारी दिए । 

‘मधेस आन्दोलनको क्रममा गिरिजाबाबुको सालिक भत्काए पनि उहाँको विचार र आदर्शलाई भत्काउन सकिँदैन,’ उनले भने, ‘मधेस, पहाड र हिमालका जनताले पूर्वप्रम कोइरालले लोकतन्त्र स्थापनाका निम्ति गर्नुभएको योगदान नेपालीले नबिर्सने मेरो विश्वास छ ।’

उनले सालिक निर्माण ११ लाख रुपैयाँ र अन्य पूर्वाधार निर्माणमा पाँच लाख रुपैयाँ खर्च भएको बताए । ‘प्रदेश सरकारको करिब १६ लाख रुपैयाँ बजेटमा कोइरालाको पूर्णकदको सालिकसहितका अन्य संरचना तयार पारेका छौँ,’ उनले भने, ‘कोइरालाको १०१औँ जन्मजयन्तीका अवसरमा सालिक अनावरण गर्ने कार्यक्रम छ ।’ 

Care City
kanti aarogya hospital
Health Care Clinic Nepalgunj

आगामी असार १८ गते पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली काँग्रेसका नेता शेखर कोइरालालगायत नेताको उपस्थितिमा सालिक अनावरण गरिनेछ । कोइरालाको नेतृत्वमा दशवर्षे सशस्त्र जनयुद्धमा रहेको तत्कालीन नेकपा माओवादीलाई शान्तिप्रक्रियामा समाहित गरिएको हो । -रासस