काँग्रेस बाँकेको शनिबार दोस्रो जिल्ला सम्मेलन


सेतोखरी सेतोखरी   शुक्रबार, जेठ २५, २०८१
काँग्रेस बाँकेको शनिबार दोस्रो जिल्ला सम्मेलन

नेपालगन्ज २५ जेठ : नेपाली काँग्रेस बाँकेले शनिबार नेपालगन्जमा दोस्रो जिल्ला सम्मेलन गर्दैछ । सुर्खेतरोडस्थित सिद्धार्थ कटेजमा विहान १० बजे सुरु हुने सम्मेलनको तयारी पूरा भएको काँग्रेसले जनाएको छ । काँग्रेसले नेपालगन्जमा पत्रकार सम्मेलन गरेर सम्मेलनको तयारी पूरा भएको जनाएको हो । सम्मेलनमा करिब एक हजार ५ सय प्रतिनिधि सहभागी हुने सभापति नारायणप्रसाद गौडेलले बताए ।

सम्मेलनको नेपाली काँग्रेसका नेता एवम् पूर्व महामन्त्री डा. शशांक कोइरालाले उद्घाटन गर्नेछन् । दोस्रो जिल्ला सम्मेलनमा सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवदेन, वार्षिक नीति तथा कार्यक्रमको प्रस्तुतिकरणसंगै प्रजातन्त्र सेनानीहरु, अग्रज ब्यक्तित्व, समाजसेवी, पूर्व जनप्रतिनिधि, अग्रज नेता, प्रत्येक पालिकाबाट एक÷एक जना उत्कृष्ट कार्य गरेका वडा सभापतिहरु, तीन कार्यकाल वडा सभापति भइसकेका वा हाल वडा सभापतिको भूमिकामा रहेकाहरु, सहिद परिवार तथा जनआन्दोलन र द्वन्द्वमा अपाङ्गता भएका, शिक्षातर्फ सामुदायिक उत्कृष्ट विद्यालय, स्वास्थ्यतर्फ उत्कृष्ट संस्था र मानव सेवामा समर्पित संघसंस्था गरी पाँच दर्जन बढी ब्यक्ति एवम् संस्थालाई सम्मान गर्न लागेको सभापति गौडेलले जानकारी गराए ।

Care City
kanti aarogya hospital
Health Care Clinic Nepalgunj

काँग्रेस बाँकेले १४औं महाधिवेशन पश्चात २०७९ चैत १८ गते प्रथम जिल्ला सम्मेलन गरेको थियो । सभापति गौडेलले नेपाली काँग्रेसको विधान बमोजिम नेपाली काँग्रेस जिल्ला कार्यसमिति बाँकेले गरेको निर्णय अनुसार जिल्लाभित्र रहेका वडा, पालिका, नगर, क्षेत्र र जिल्लाले वार्षिकरुपमा सम्मेलन गर्नुपर्ने व्यवस्था भए बमोजिम जिल्लाका केही वडा, पालिका र नगर बाहेक सबै वडा र क्षेत्रमा बार्षिक सम्मेलन सम्पन्न भएको बताए । जिल्ला सम्मेलन विगतको समिक्षा र आगामी दिनको कार्ययोजना प्रस्तुत गर्ने थलो पनि भएकाले उल्लासपूर्ण तरिकाले सम्पन्न गर्न काँग्रेस  बाँके लागिपरेको गौडेलको भनाई छ ।

पत्रकार सम्मेलनमा पार्टी उपसभापतिद्वय गोपालप्रसाद अधिकारी र कृष्ण बहादुर कार्की, सचिव शुधांशु कोइराला, सहसचिवद्वय रेनु सिंह ठाकुर र विनोद थारु, प्रवक्ता डिल्ली गिरी, पार्टीका सल्लाहकार हुर्मत न्यौपाने, जिल्ला सदस्य लगायत अन्य नेताहरुको उपस्थिति थियो ।