अतिक्रमित जमिन खाली गराउन पहल गर्दै सुदूरपश्चिम विश्वविद्यालय


सेतोखरी सेतोखरी   शनिबार, जेठ २६, २०८१
अतिक्रमित जमिन खाली गराउन पहल गर्दै सुदूरपश्चिम विश्वविद्यालय

महेन्द्रनगर २६ जेठ : सुदूरपश्चिम विश्वविद्यालयले आफू मातहतका आङ्गिक क्याम्पसको अतिक्रमित सयौंँ बिघा जमिन खाली गराउन पहल थालेको छ । सार्वजनिक जग्गा तथा सम्पत्ति संरक्षणलाई तीव्रता दिएसँगै विश्वविद्यालयले आङ्गिक क्याम्पसअन्तर्गतका अतिक्रमित जमिन खाली गराउन पहल थालेको हो ।

कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयले टीकापुरमा रहेको टीकापुर बहुमुखी क्याम्पसको तीन सय बिघा जग्गा अतिक्रमण हटाउन पटक पटक अनुरोध गर्दा पनि सुनुवाइ नभएको जनाएको छ । विसं २०६२ मा तत्कालीन टीकापुर विकास समितिले क्याम्पस स्थापना गर्न तीन सय ८० बिघा जग्गा उपलब्ध गराएको थियो । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. हेमराज पन्तले सार्वजनिक जग्गा एवं सम्पत्तिको संरक्षण र अतिक्रमण खाली गराउने अभियानमा सरोकारवाला निकायले पनि साथ दिनुपर्ने बताए ।  

‘टीकापुरस्थित क्याम्पससँग ३८० बिघा जग्गा रहे पनि क्याम्पसले हालसम्म ८० बिघा मात्रै भोगचलन गर्न पाएको छ’, उपकुलपति प्रा. डा. पन्तले भने । तीन सय बिघा जमिन मुक्तकमैया तथा सुकुम्वासीको नाममा अतिक्रमणमा परेको छ । वास्तविक पीडितको पहिचान गरी व्यवस्थापनमा ध्यान दिएर विश्वविद्यालयको जमिन खाली गराउन सम्बन्धित निकायले अग्रसरता लिनुपर्ने उनको भनाइ छ ।

सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार यज्ञराज पाठकले जग्गा खाली गराउने विषयमा विश्वविद्यालयका कुलपति समक्षसमेत आग्रह गरिएको बताए । ‘केन्द्रीयस्तरको पहलबाट मात्रै अतिक्रमित जमिन खाली गराउन सकिने हुँदा पहल गरिनु आवश्यक छ’, उनले भने, ‘विश्वविद्यालयको जमिन अतिक्रमणमा पर्दा क्याम्पस व्यवस्थापनमा बाधा पुगेको छ ।’

Care City
kanti aarogya hospital
Health Care Clinic Nepalgunj

विसं २०६३ देखि क्याम्पसको जमिन अतिक्रमण सुरु भएको टीकापुर बहुमुखी क्याम्पसका प्रमुख धवीन्द्र रावलले बताए । उनले पछिल्लो समय गृह मन्त्रालयद्वारा सार्वजनिक जग्गासम्बन्धी सूचना प्रकाशित भएपछि अतिक्रमित जग्गाको लालपुर्जासहितको कागजात जिल्ला प्रशासन कार्यालय कैलालीमा पेस गरिएको उनले जानकारी दिए । 

‘कागजात पेस गरे पनि सुनुवाइ भएको छैन । गृहको सूचनाका आधारमा महेन्द्रनगरलगायत सहरमा अतिक्रमण गरिएका जमिन खाली गरिँदै छन्’, क्याम्पस प्रमुख रावलले भने । उनका अनुसार क्याम्पस परिसरको जग्गामा करिब एक हजार पाँच सय परिवारले टहरा बनाएर बसेका छन् । 

‘हामीले कृषि कार्यक्रम सञ्चालन गरेका छौँ, यसमा अध्ययनरत विद्यार्थीलाई प्रयोगात्मक कक्षाका लागि ठाउँ अभाव भइरहेको छ’, क्याम्पस प्रमुख रावलले भने, ‘विद्यार्थीको अध्ययनका लागि भौतिक संरचना र प्रयोगशाला भवन नहुँदा झन समस्या छ ।’ उनले पछिल्लो समय जग्गा अतिक्रमणको विषय महालेखा परीक्षकको प्रतिवेदनमा समेत उल्लेख भएको बताए ।  

यसअघि अतिक्रमण हटाउन स्थानीय तथा प्रदेश सरकार, विश्वविद्यालयका उपकुलपति तथा रजिष्ट्रारको सहभागितामा पटक–पटक सर्वपक्षीय बैठक र छलफल भए पनि विश्वविद्यालयले आफ्नो जग्गा भोगचलन गर्न पाएको छैन । -रासस