नेपालगन्ज मेडिकल कलेजले २६ वर्षमा तीन हजार बढि डाक्टर उत्पादन गर्‍यो


सेतोखरी सेतोखरी   शनिबार, साउन १२, २०८१
नेपालगन्ज मेडिकल कलेजले २६ वर्षमा तीन हजार बढि डाक्टर उत्पादन गर्‍यो

कोहलपुर १२ साउन : बाँकेको कोहलपुरमा अवस्थित नेपालगन्ज मेडिकल कलेजबाट ३ हजार बढी डाक्टर उत्पादन भएका छन् । 

लर्डबुद्ध एजुकेशनल एकेडेमी लिमिटेड अन्तर्गतको नेपालगन्ज मेडिकल कलेजबाट पछिल्लो २६ वर्षमा ३ हजार बढी डाक्टर उत्पादन गर्न सफल भएको हो । 

२०५४ सालबाट कलेजले एमबिबिएस पढाई सुरु गरेको थियो । बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर–१, चिसापानीमा कलेजको संरचना रहेको छ । 

स्थापनाकालदेखी हालसम्म कलेजबाट ३ हजार २ सय ४२ जना बिद्यार्थी एमबिबिएस उर्तीण भईसकेका छन् । जसमा नेपालसहित भारत र श्रीलंकाका बिद्यार्थी रहेका छन् । 

यस्तै सन् २०१२ बाट कलेजमा सुरु भएको (एमडी÷एम.एस) अध्यापनबाट ३ सय ४४ जना बिद्यार्थी उर्तीण भएको नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरका निर्देशक एवम् प्राध्यापक डाक्टर रेशमबहादुर रानाले जानकारी दिए । 

उनका अनुसार कलेजबाट बिद्यार्थीले फिजिसियन, सर्जन, हाडजोर्नी, नाक, कान, आँखा सम्बन्धी रोग लगायत विभिन्न विषयमा एमडी÷एम.एस. उर्तीण गरेका छन् । 

‘एमडी-एम.एस पास गरेर यस क्षेत्रमा धेरै जनशक्ती उत्पादन भएका छन्,’ प्रा.डा. रानाले भने । 

यसैगरी कलेजबाट ५२ जना बिद्यार्थीले बि.एस्सी नर्सिङ विषय उर्तीण गरिसकेका छन् । मेडिकल कलेजद्धारा सञ्चालित शिक्षण अस्पताल कोहलपुरमा हाल १३ वटा विभाग र करिव ५ वटा विशिष्टकृत सेवा सञ्चालनमा रहेका छन् ।