कक्षा १२ को परीक्षामा ४७.०९ प्रतिशत अनुत्तीर्ण


सेतोखरी सेतोखरी   शुक्रबार, साउन १८, २०८१
कक्षा १२ को परीक्षामा ४७.०९ प्रतिशत अनुत्तीर्ण

नेपालगन्ज १८ साउन : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (अनुत्तीर्ण) भएका छन् ।

नियमिततर्फ परीक्षा ३ लाख ९० हजार ८६८ विद्यार्थी मध्ये दुई लाख तीन हजार ८४७ विद्यार्थी पास भएका छन् । यसैगरी ग्रेड वृद्धितर्फ २०७८-७९ का २८.२६ प्रतिशत पास भएका छन् भने २०७६-०७७ का ६२.०५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा कुल चार लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी थिए । यो वर्ष पहिलो पटक स्वचालित छनोट प्रणालीको प्रयोग गरेर परीक्षा केन्द्र निर्धारण गरेको थियो ।

तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र बोर्डको प्राविधिक टोलीले ‘पाइलट प्रोजेक्ट’ को रूपमा सफ्टवेयर बनाई पहिलो पटक काठमाडौँ जिल्लाका परीक्षा केन्द्र स्वचालित विधिबाट छानिएको थियो । 

Kanti Aarogya Hospital Nepalgunj

२०७९ सालमा ५१.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए भने २०७८ सालमा ४६.४ प्रतिशत विद्यार्थी पास भएका थिए । 

बोर्डले लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार परीक्षा सञ्चालन गर्दै आएको छ । जसमा प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक ल्याउनैपर्ने हुन्छ । ३५ प्रतिशत अंक भन्दा कम आउने विद्यार्थीको नतिजा एनजी आउँछ । 

माध्यमिक शिक्षाका लागि २०७८ सालमा नै लेटर ग्रेडिङ निर्देशिका लागू भएको थियो । यस अघिसम्म कक्षा १२ को नतिजा मात्रै उक्त निर्देशिका अनुसार सार्वजनिक हुँदै आएको थियो । 

२०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा त्यही निर्देशिका अनुसार सार्वजनिक भएको थियो ।

नतिजा हेर्नका लागि नेपाल टेलिकमले विभिन्न माध्यमको प्रयोग गर्न आग्रह गरेको छ । टेलिकमले शुक्रबार सूचना जारी गर्दै कक्षा १२ को नतिजा आईभीआर, एसएमएस, युएसएसडी र वेबसाइटमार्फत् हेर्न सकिने बताएको छ ।

टेलिकमका अनुसार आईभीआरका लागि नेपाल टेलिकमको ल्यान्डलाइन फोन, मोबाइलबाट १६०१ डायल गरी नतिजा प्राप्त गर्न सकिने छ ।