नेपालगन्ज १९ साउनः बाँकेको खजुरा गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१-८२ को विकास बजेट कार्यान्वयन सुरु गरेको छ । गाउँपालिकाका इन्जिनियर सोनु साहले साउन १ गतेदेखि नै विकास आयोजना कार्यान्वयनमा ल्याउन प्रक्रिया सुरु गरेको जानकारी दिए ।
इन्जिनियर साहले भने,‘साउन १ गते जिल्ला दररेट प्राप्त भएपछि योजनाको लागत स्टिमेट र फिल्ड नापजाँचको काम गरिरहेका छौँ ।’ पालिकाले चालु आर्थिक वर्षमा विनियोजन भएका योजनामध्ये केही योजनाको टेण्डरसमेत आह्वान गरिसकेको छ ।
यसैगरी उपभोक्ता समिति र टोल विकास समितिमार्फत सञ्चालन हुने आयोजनाको कामसमेत दशैँअगावै सम्झौता गरी कार्यान्वयन गरिसक्ने लक्ष्य गाउँपालिकाको छ । दशैँसम्म सम्पूर्ण योजनाको ठेक्का आह्वान गरी सम्झौता गरिसक्ने तयारीका साथ सम्पूर्ण जनशक्ति परिचालन भएको गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले जानकारी दिए ।
अघिल्ला आवमा ढिलो गरी काम सुरु भएका कारण विकास बजेट न्यून मात्रामा खर्च हुन थालेपछि गाउँपालिकाले यस वर्ष साउन सुरुवातदेखि नै योजना कार्यान्वयनका लागि प्रक्रिया सुरु गरेको हो । खजुरा गाउँपालिकामा गत वर्ष विकास बजेट ६९ प्रतिशत मात्रै खर्च भएको हो ।
अध्यक्ष विकले भने, ‘अघिल्लो आवभन्दा विकास बजेट बढी खर्च भए पनि यसलाई थप वृद्धि गराउन अहिलेदेखि तयारी थालिएको हो ।’ वडागत र पालिकास्तरीय तथा अन्य गरी वार्षिक करिब चार सय वटा योजनाका लागि रकम विनियोजन हुने गरेको छ ।
सङ्घ सरकार र प्रदेश सरकारबाट आउने अनुदानका योजना भदौभित्र यकिन भएपछि छिटोभन्दा छिटो कार्यान्वयनमा लैजाने पालिकाले जनाएको छ । वडामा सञ्चालित हुने योजनामा उपभोक्ता समिति र ठेक्कामार्फत हुने कामको वडा कार्यालयले समयमै समन्वय र सहकार्य गरेमा साना योजना पुस महिनाभित्र सम्पन्न भइसक्ने छन् ।
रास्वपाकाे निर्देशन: दसैं-तिहारमा ‘उपहार’ नलिनू, नदिनू
प्रधानमन्त्रीको दसैं शुभकामना: आफूभित्रको महिषासुर र रावणलाई चिन्न सकौँ
दसैं बजार: यसपालि गुल्जार भयो नेपालगन्ज, नेपाली उपभोक्ता नभएपछि पारितिर सुनसान
नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मान्यता, एनपिएल अब आईसिसीमा अभिलेख हुने
सात दिनपछि सकियो काँग्रेसको मतगणना, शपथग्रहण दसैंपछि
‘पुलिस ब्याटन’ यसपालि लुम्बिनी प्रदेश प्रहरीलाई