नेपालगन्ज २५ साउन : बाँकेको डुडुवा गाउँपालिका–५ कम्दीस्थित नानापुर क्षेत्र पर्यटकको रोजाइमा पर्दै गएको छ । नेपालगञ्जबाट नजिकै रहेको प्राकृतिक वातावरण, सिद्धिविनायक लायन्स उद्यान र नानापुर घरबास (होमस्टे)ले पर्यटकलाई लोभ्याउने गरेको छ ।
नानापुर क्षेत्रमा शनिबार वा सार्वजनिक बिदाका दिन नेपालगञ्ज, कोहलपुरलगायत क्षेत्रबाट घुम्न आन्तरिक पर्यटक पुग्ने गरेका स्थानीय अगुवा मीनबहादुर थापाले बताए ।
‘नेपालगञ्ज सहरबाट नजिकै पर्ने हराभरा र रमणीयस्थलले सबैलाई लोभ्याइरहेको छ’, उनले भने, ‘पर्यटनको प्रचुर सम्भावना रहेकाले नानापुर घरबास र उद्यानलाई अझ रमणीय बनाउन स्थानीय सरकारको अग्रसरताको खाँचो छ ।’
बाबुकुवा सामुदायिक वन उपभोक्ता समूहको करिब दुई बिघा जमिनमा बनाइएको भौतिक संरचनामा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरेर आन्तरिक पर्यटकले आन्नद लिने गरेका छन् ।
सिद्दीविनायक लायन्स उद्यानमा लायन्स स्तम्भ, सेल्फी जोन, गोलघर, कार्यक्रम कक्षलगायत संरचना निर्माण गरिएको छ । बाबुकुवा सामुदायिक वनमा सिद्दिविनायक लायन्स उद्यान सञ्चालनमा आएपछि त्यसले आन्तरिक पर्यटकको चहलपहल बढाएको नानापुर होमस्टेका अध्यक्ष डम्बर बुढाथोकीले जानकारी दिए । नानापुर क्षेत्र पुग्ने आन्तरिक पर्यटक स्थानीय रहनसहन, संस्कृतिलाई नजिकबाट नियाल्न होमस्टे पुग्ने गरेका उनी बताउँछन् ।
‘होमस्टेको प्रचारप्रसार गर्न नसक्दा बाह्य पर्यटक कम आउने गरेका छन् । होमस्टेको शिष्टाचार, स्थानीय परिकारका स्वाद, पारिवारिक रहनसहनमा घुम्न आउने आन्तरिक पर्यटक रमाउने गरेका छन्,।’ उनले अगाडी थपे–‘सुरुको वर्ष होमस्टे सुनसानजस्तै थियोे, विस्तारै पर्यटक आउने क्रम बढेको छ ।’
नेपालगञ्जबाट करिब आठ किलोमिटरको दूरीमा नानापुर क्षेत्र रहेको छ । पछिल्लो पटक सिक्टा सिँचाइ आयोजनाको नहरमा पानी बग्न थालेपछि गर्मीयाममा त्यहाँ पुग्ने पर्यटक रमाउने गरेका छन् । डुडुवा गाउँपालिका–५ का वडाध्यक्ष झङ्कबहादुर थापाले वडास्तरबाट पूर्वाधार विकास गर्न बजेट नभएकाले गाउँपालिका र प्रदेश सरकारसँँग नानापुर क्षेत्रको थप विकास गर्न पहल गरिएको बताए । -रासस
रास्वपाकाे निर्देशन: दसैं-तिहारमा ‘उपहार’ नलिनू, नदिनू
प्रधानमन्त्रीको दसैं शुभकामना: आफूभित्रको महिषासुर र रावणलाई चिन्न सकौँ
दसैं बजार: यसपालि गुल्जार भयो नेपालगन्ज, नेपाली उपभोक्ता नभएपछि पारितिर सुनसान
नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मान्यता, एनपिएल अब आईसिसीमा अभिलेख हुने
सात दिनपछि सकियो काँग्रेसको मतगणना, शपथग्रहण दसैंपछि
‘पुलिस ब्याटन’ यसपालि लुम्बिनी प्रदेश प्रहरीलाई