लुम्बिनीसहितका यी प्रदेशमा आज दिउँसो र राती भारी वर्षा हुने, नदी किनारका क्षेत्रमा सतर्कता अपनाउन आग्रह


सेतोखरी सेतोखरी   आइतबार, भदौ २, २०८१
लुम्बिनीसहितका यी प्रदेशमा आज दिउँसो र राती भारी वर्षा हुने, नदी किनारका क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नेपालगन्ज २ भदौ : यतीबेला लुम्बिनी, कर्णाली, गण्डकी र बागमती प्रदेशमा मध्यमदेखि भारी वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षा भएसँगै खोला तथा नदीहरुमा पनि बहाव बढेको छ ।

आज बिहान बाँकेको नेपालगञ्ज एयरपोर्ट र खजुरा, बर्दियाको रम्भापुर र रानीजरुवा, दाङको लालमटिया, रोल्पाको लिवाङ, दैलेखको कट्टी र कैलालीको टीकापुर तथा कपिलवस्तुको भगवानपुरमा मध्यमदेखि भारी वर्षा भएको छ । ६ घण्टाको अवधिमा गोरखाको आरुघाट र पर्साको मुडलीमा पनि भारी वर्षा मापन भएको छ ।

पछिल्लो १२ घण्टाको अवधिमा देशका अधिकांश स्थानमा वर्षा भएको छ । १२ घण्टाको अवधिमा सबैभन्दा धेरै वर्षा रुपन्देहीको भैरहवामा मापन भएको छ । त्यहाँ १७८ मिलिमिटर वर्षा मापन भएको छ ।

अहिले वर्षा लुम्बिनी र बागमती प्रदेशमा बढी भइरहेकाले खोला तथा नदीहरुमा बाढीको जोखिम बढेको छ ।

जलसतह बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्रहरूमा रहने र यात्रा गर्नेहरुलाई बिहान १० सम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

यसैगरी कपिलवस्तु जिल्लाको भगवानपुर, दाङ जिल्लाको लालमटिया र बागासोती, प्युठान जिल्लाको हन्सपुर, माडी नदी र बिजुवार, रोल्पाको सुलिचौर र लिबाङ गाउँ तथा ती स्थानका आसपासमा सामान्यदेखि मध्यम वर्षा भएकाले बाढीको जोखिम छ ।

प्युठान जिल्लास्थित लुंग्री नदीको खुंग्री जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ ।

दैलेख जिल्लास्थित कट्टी वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको छ । ६ घण्टाको अवधिमा त्यहाँ ११६.२ मिलिमिटर वर्षा भएको छ ।

त्यसैले बेस्तडा खोला र अन्य स–साना खोलामा बहाव केही बढ्ने भएकाले नदी तटीय क्षेत्र र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले भनेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुन न्यून चापीय रेखा सरदर स्थानकै आसपासमा छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि परामर्श जारी गर्दै सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
लुम्बिनी, कर्णाली, गण्डकी, बागमती र मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन सुझाव समेत दिएको छ ।

महाशाखाको बुलेटिनमा उल्लेख भएअनुसार आज दिउँसो लुम्बिनी, कणाली र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । आज राति लुम्बिनी, कर्णाली, गण्डकी, बागती र मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

यस्तै भोली सोमबार दिउँसो लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, गण्डकी र  बागमती प्रदेशका थोरै स्थानहरु तथा कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

सोमबार राति भने कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले आईतबार बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ ।