नेपालगन्ज २ भदौ : वर्षासंगै आएको पहिरोले भेरी करिडोरअन्तर्गत छिन्चु–जाजरकोट सडक अवरुद्ध भएको छ ।
शुक्रबार बेलुकी परेको पानीले जाजरकोटको छेडागाड नगरपालिका र भेरी नगरपालिकाअन्तर्गत विभिन्न ठाउँ–ठाउँमा पहिरो गएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
करिडोरअन्तर्गतको भेरी नगरपालिका–१३ कुदुबाट वडा नम्बर–४ को खहरेखोला भिर र छेडागाड नगरपालिका–१२ कालापहाड नजिक पहिरो खसेर सडक अवरुद्ध भएको हो । भेरी नगरपालिका–११ स्थित खोदाखोला नजिक पनि खसेको पहिरोले सडक अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार छिन्चु–जाजरकोट सडकअन्तर्गत छेडागाड नगरपालिका–१२ काडला पहाडबाट तल्लु बगरसम्मको सडकका ठाउँठाउँमा पहिरो खसेकाले सडक अवरुद्ध भएको छ ।
केही स्थानमा पहिरो हटाए पनि शनिबार बिहान फेरि कुदु र मटेलामा पहिरो खसेका कारण अहिले करिडोरभित्रको छिन्चु–जाजरकोट सडक अवरुद्ध भएको प्रहरीले बताएकोछ ।
यसैबीच, सडक डिभिजन कार्यालय आज(आईतबार) बिहानैदेखि पहिरो पन्छाउन जुटेको छ । चन्दननाथ गण मालिका ब्यारेक क्षेत्रमा झरेको पहिरो पनि पन्छाउन थालिएको छ ।
पर्याप्त उपकराणको अभावमा सबैतिर समयमै बाटो खुलाउन समस्या भएको प्रहरीले जनाएको छ । आज बिहानैदेखि भारी वर्षा भइरहेकाले समस्या थपिएको छ ।