सुदूरपश्चिममा गौराको रौनक, यस्तो छ गौराको पर्वको धार्मिक महत्व


सेतोखरी सेतोखरी   सोमबार, भदौ १०, २०८१
सुदूरपश्चिममा गौराको रौनक, यस्तो छ गौराको पर्वको धार्मिक महत्व

नेपालगन्ज १० भदौ : सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको रौनक छाएको छ । भदौ शुक्ल पञ्चमीदेखि आरम्भ हुने सुदूरपश्चिमेलीहरूको महान पर्व गौराको मुख्य दिन आज अठवाली अथात् अष्टमी हर्षोल्लासका साथ मनाइँदैछ ।

दार्चुला, बैतडी, डडेल्धुरासहितका पहाडी जिल्लामा आजको दिन गौराको पूजाआजा गरेर स्थानीय गौरादेवीको मन्दिरमा जात्रा लाग्ने गर्दछ भने कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएका पहाडी समुदाय पनि गौरादेवीको मन्दिर स्थापना गरेको ठाउँमा जम्मा भएर पर्व मनाउने गर्छन् ।

सुदूरपश्चिमको मौलिका संस्कृतिको रुपमा रहेको गौरा पर्व भारत उत्तराखण्डको कुमाउ, गढवालमा समेत आ–आफ्नै धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार मनाउने गरिन्छ ।
गौरा पर्वमा काम विशेष र रोजगारीका सिलसिलामा भारतलगायतका देशमा गएकाहरु फर्किएपछि गाउँघरहरु भरिभराज भएका छन् ।

भदौ शुक्ल पञ्चमीदेखि आरम्भ हुने गौराको पहिलो दिन महिलाहरुले घरघरमा तामाको भाँडामा बिरुडा (पाँच प्रकारका अन्न) भिजाएर गौरा पर्वको विधिवत रुपमा सुरुआत गर्दछन् ।भदौ शुक्ल पञ्चमीका दिन महिलाहरुले व्रत बसी केराउ, गहत, गहुँ, मास र गुरौस मिसाएर तामाको भाँडामा विरुडा भिजाएपछि गौरा पर्वको थालनी हुन्छ ।

Care City
Kanti Aarogya Hospital Nepalgunj

भदौ शुक्ल पञ्चमीका दिन बिरुडा भिजाउने चलन रहिआएकाले सुदूरपश्चिममा यस पञ्चमीलाई बिरुडा पञ्चमीका नामले पनि चिन्ने गरिन्छ ।

भदौ शुक्ल पञ्चमीका दिन भिजाइएको बिरुडा भोलिपल्ट षष्ठीका दिन नजिकको धारा, तलाउ वा पोखरीमा लगेर धुने चलन छ । त्यस्तै सप्तमीका दिन गौरा देवीलाई नजिकैको मठमन्दिरमा भित्र्याएर पूजा अर्चना गरी विवाहित महिलाहरुले दुवधागो (मन्त्रिएको एक किसिमको धागो) चढाउने चलन छ ।

अठवली अर्थात् अष्टमीको दिन व्रत बसेर गौरा पर्व मनाउने स्थल गौरा खला (आँगन)मा पार्वती र शिवको पूजापाठ गर्ने चलन छ ।

आजको दिनलाई दुर्वाष्टमी पनि भन्ने गरिन्छ । गौरा पर्वको मुख्य आकर्षणको रुपमा रहेको देउडामा पौराणिक कथा, देवी देवताका गाथा गाउने, चैतली, धुमरी, ढुस्को लगायतका भाकामा देउडा खेल खेल्ने चलन छ ।

देउडाका माध्यमबाट समाजमा भएको विकृति, देशको राजनीतिक अवस्थालगायतका बारेमा तिखो व्यङ्ग्य गरी पनि गरिन्छ । त्यस्तै देउडा गीतका माध्यमबाट सुखदुःख बाँड्नुका साथै सामाजिक सदभाव कायम पनि गरिन्छ ।

यस्तो छ धार्मिक महत्व 

सत्य युगमा हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी वर्षा ऋतुको भाद्र महिनामा जल, जङ्गल, जमिन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा यो पर्व मनाउन सुरु गरिएको हो ।

गौरा पूजा गर्नका लागि पाँच वनस्पति कुश, काँस, सामा (सौँ), तीतेपाती र अपामार्ग कतै तिलको बिरुवा पनि राखेर देवीको आकार बनाउने गरिन्छ । यसरी बनाइएको देवीलाई भाद्र कृष्ण अष्टमीका दिन गाउँको सफा घरमा भित्र्याएर बर्तालुले निराहार बसी पूजा गर्ने परम्परा रहेको छ ।

देवीलाई गाउँका नायकले भित्र्याउनुपर्ने चलन छ । यसरी भित्र्याउँदा कसैले पनि हेर्नु नहुने मान्यता छ । गौरा भित्र्याउने घरमा जम्मा भएका गाउँलेले खोज्दा नभेट्ने गरी नायकले लैजान्छन् ।

यो पर्वका लागि भाद्र शुक्ल पञ्चमीका दिन केराउ, जौ, मस्याङ, मास र गुराँसको गेडा भिजाएर राखिन्छ, यसलाई बिरुडा भनिन्छ, अष्टमीमा भगवतीलाई पूजा गरेर प्रसादका रूपमा बिरुडा चढाइन्छ, भक्तजनलाई पनि प्रसादका रूपमा बिरुडा नै बाँडिन्छ, पाँच किसिमका गेडागुडी भिजाउने दिनलाई बिरुडा पञ्चमी भनिन्छ ।

यसरी दुईरतीन दिन पूजा गरिसकेपछि मङ्गलबार र शनिबार नपारी देवीलाई नदी, कुवा, पोखरी वा जलाशयमा लगी सेलाइन्छ । जुठो, सूतक परेका बेला देवीलाई विसर्जन गर्न नहुने परम्परा छ । देवीलाई विसर्जन गरेपछि मागल अर्थात् माङ्गलिक कर्ममा गाइने भजन, गीत आदि गाएर रमाइलो गर्ने परम्परा छ । देशका अन्य भागमा तीज मनाए जस्तै पश्चिममा यो पर्व विशेषगरी नारीहरुले मनाउने गरेका छन् ।   

दुर्वाष्टमी 

दुबोको समेत पूजा गरिने भएकाले यो अष्टमीलाई दुर्वाष्टमी पनि भनिन्छ । दुबो जसरी फैलिन्छ त्यसरी नै सन्तान, दर सन्तान फैलियून् भन्ने कामनाले यो पर्वमा उमा महेश्वरको पूजा, उपासना र व्रतसमेत गरिने धार्मिक नियम छ । सन्तान राम्रा र गुण सम्पन्न हुन्, आयु तथा स्वास्थ्य राम्रो होस् भन्ने कामनाले पनि गौरा एवं दुर्वाष्टमी पर्व मनाइन्छ । 

अष्टमीका दिनमा पूरै ज्येष्ठा र मूल नक्षत्र परेमा भने दुबोको पूजा गर्न नहुने शास्त्रीय मान्यता रहेको पनि बताइन्छ । अष्टमी तिथिभर ज्येष्ठा र मूल नक्षत्र नपरेमा भने दुबोको पूजा गर्नहुन्छ भन्ने शास्त्रीय मान्यता छ । 

यो दिनमा सूदुरपश्चिमवासीले देउडा गीत गाएर नृत्य गरी रमाइलो  गर्दछन् । काठमाडौँको टुँडिखेलमा पनि यस दिन देउडा गीत र नृत्य गरी सूदुरपश्चिमवासीले मनोरञ्जन गर्ने गरेका छन् । भदौ ११ गतेपछि आआफ्नो अनुकूलताअनुरुप गौरा सेलाउने चलन रहेको जनाइएको छ ।

यो पर्व भाद्र शुक्ल अष्टमीका दिन मनाइन्छ । भाद्र शुक्ल अष्टमी अगावै अगस्त्य ऋषिको उदय हुने वर्ष भने भाद्र कृष्ण अष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउँछन् । यस वर्ष भाद्र शुक्ल अष्टमीपछि अगस्त्य उदय हुने छ।  

भाद्र शुक्ल अष्टमीमा मनाइने गौरालाई उज्याली र कृष्ण अष्टमीमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ । यसैले यस वर्षको गौरालाई उज्याली भनिन्छ । पहिलो पटक व्रत बस्नेले भने भाद्र शुक्ल अष्टमी अर्थात उज्याली गौराबाटै सुरु गर्नुपर्ने व्रत विधान छ ।