तिज खर्च कटाएर बिरामी व्यवसायी महिलालाई पौने एक लाख सहयोग


सेतोखरी सेतोखरी   बिहीबार, भदौ १३, २०८१
तिज खर्च कटाएर बिरामी व्यवसायी महिलालाई पौने एक लाख सहयोग

नेपालगन्ज १३ भदौः नेपालगन्ज उद्योग वाणिज्य संघले महिला सदस्यले तिज मनाउन लाग्ने खर्च कटाएर स्वास्थ्य समस्यामा परेकी व्यवसायी महिलालाई सहयोग गरेको छ । 

संघका अध्यक्ष टंकबहादुर धामी नेतृत्वको पदाधिकारी र सदस्य सम्मिलित टोलीले बुधबार संघका साधारण सदस्य कृष्णा शाहीलाई ७६ हजार तीन सय रुपैयाँ सहयोग गरेको हो ।

नेपालगन्ज औद्योगिक क्षेत्रभित्र कृष्णा चमेना गृह सञ्चालन गरिरहेकी शाही एपेन्डाइटिक्सको इन्फेक्सनबाट गम्भीर प्रकृतिको बिरामी भएकी छन् । लामो समयदेखि ओछ्यानकै उनको बास भएको छ । 

संघको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ५१ हजार रुपैयाँ र कार्यसमिति पदाधिकारी र सदस्यबाट संकलन गरेको २५ हजार तीन सय रुपैयाँ औद्योगिक क्षेत्रभित्र रहेको शाहीकै निवासमा पुगेर अध्यक्ष धामीले शाहीका पतिलाई रकम हस्तान्तरण गरेका हुन् ।

संघले महिला उपाध्यक्ष मन्दिरा पाण्डेको संयोजकत्वमा शाहीलाई सहयोग संकलन गर्न इन्दिरा शाही र उमा ग्राण्डन सदस्य रहेको समिति बनाएको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा अध्यक्ष धामीसँगै महिला उपाध्यक्ष मन्दिरा पाण्डे, महासचिव भीम बहादुर रानाभाट, उपमहासचिव टेकबहादुर खड्का, कोषाध्यक्ष मख्खन धामी, प्रवक्ता डम्बरबहादुर चन्द, सदस्यहरु इन्दिरा शाही, शिव दाहाल, राजिव तलंगा र सुदन केसीको सहभागिता रहेको थियो ।