नेपालगन्ज १४ भदौ : खजुरा गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए लगतै अध्यक्ष डम्बर बिक ‘तुफान’ले सुरु गरेको नमुना कार्यक्रम हो ‘ज्येष्ठ नागरिकसँग अध्यक्ष’ कार्यक्रम । जुन कार्यक्रम अन्तरगत पालिकाका स्वास्थ्यकर्मीहरू घर–घरमा पुगेर ज्येष्ठ नागरिकको हेरचाह र उपचारमा सहयोग गरिरहेका छन् ।
सुरुमा आलोचना गरिएको कार्यक्रमको प्रभावकारिता बढेसँगै जिल्लादेखी प्रदेशसम्म प्रशंसा हुन थालेको छ । पालिका अध्यक्ष तुफानले सो कार्यक्रम लुम्बिनी प्रदेशमै नमुना कार्यक्रमका रुपमा हेरिएको जानकारी दिए ।
खजुरामा स्थानीय तहको निर्वाचनपछिको गाउँपालिकाको पहिलो गाउँसभाले नै ‘ज्येष्ठ नागरिकसँग अध्यक्ष’ कार्यक्रम ल्याएको थियो । स्थानीय ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पु¥याउने उद्देश्यले ल्याइएको ज्येष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम अहिले प्रभावकारी बन्दै गएको हो ।
सो कार्यक्रम लागू भएपछि स्वास्थ्य कार्यालयसम्म स्वास्थ्य चेकजाँच गर्न जान मुस्किल भएका ज्येष्ठ नागरिकहरूका लागि स्थानीय सरकारले घरमै स्वास्थ्यकर्मी पठाएर स्वास्थ्य जाँच र औषधी समेत दिने गरेका छन् ।

ज्येष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम आफूहरूका लागी बरदान सावित भएको खजुर गाउँपालिका वडा नम्बर–४ की ७१ वर्षीय हिरा कुमारी खत्रीले बताइन् । उनले हालका खजुराका जनप्रतिनिधि ज्येष्ठ नागरिकहरूको अभिभावक बनेकोमा खुशी व्यक्त गरिन् । उनले निर्वाचनका समयमा घर–घरमा स्वास्थ्य सेवा पु¥याउने भनी गरेको बाचा पुरा गरेकोमा धन्यवाद दिइन् ।
वडा नम्बर–५ का ६९ वर्षीय मोबिना खातुनले घरमै स्वास्थ्य सेवा पाउँदा खुशी भएको बताउँदै आफ्नो स्वास्थ्य अवस्थाका बारेमा घरमै नियमित चेकजाँच गर्न स्वास्थ्यकर्मी आएपछि स्थानीय सरकारलाई धन्यवाद दिइन् ।
ज्येष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रममार्फत पालिकामा बसोवास गर्ने ज्येष्ठ नागरिकहरूको सुगर, प्रेसर तथा अन्य चेकजाँचका साथै औषधि समेत दिने गरिएको छ ।
ज्येष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम अन्तरगत आर्थिक वर्ष २०७९-८० मा एक हजार ६ सय ५० ज्येष्ठ नागरिक तथा अशक्तहरूको सेवा तथा उपचार गरिएको थियो । भने आर्थिक वर्ष २०८०-८१ मा दुई हजार २ सय ४९ जना लाई सेवा दिइएको स्वास्थ्य तथा सामाजिक शाखा प्रमुख दीपक ढकालले जानकारी दिए । २०८०-८१ मै पालिकाभरका २ सय ४५ जना शारीरिक अशक्तहरूलाई घरमै स्वास्थ्य सेवा दिइएको प्रमुख ढकालले बताए ।
कुनै पनि ज्येष्ठ नागरिकहरू उपचारबाट बञ्चित हुन नपरोस् र प्रत्येक ज्येष्ठ नागरिकको घरदैलोमा पुगेर स्वास्थ्यकर्मीलाई सेवा गर्ने गरि कार्यक्रमको सुरुवात गरिएकोमा सो कार्यक्रम लक्ष्य अनुसार सफलता प्राप्त गरेको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिक ‘तुफान’ले बताए ।
नारामा मात्रै नभएर व्यवहारमै जनमैत्री स्थानीय सरकार बनाउन आफूहरूले ज्येष्ठ नागरिकलाई उनीहरूकै घर–घरमा पुगेर सेवा दिएको उनको भनाई छ । अस्पतालसम्म पुग्न नसक्ने ज्येष्ठ नागरिकका लागी यो कार्यक्रम अति उपयोगी र प्रभावकारी मानिएको खजुरा गाउँपालिका प्रवक्ता धनराम ओली बताउँछन् ।
सो कार्यक्रम अन्तरगत स्थानीय सरकारले ६८ वर्ष पुगेका ज्येष्ठ नागरिक तथा अशक्त नागरिकको घरमै गएर स्वास्थ्यकर्मीहरूले नियमित रुपमा मासिक एक पटक स्वास्थ्य परीक्षण गर्ने गरिएको ओलीको भनाई छ । यसका लागि खजुरा गाउँपालिकाले ४ जना स्वास्थ्यकर्मीहरूलाई छुट्टै खटाइएको र प्रत्येक स्वास्थ्यकर्मी २ वटा वडा पर्नेगरि व्यवस्था मिलाइएको प्रवक्ता ओलीको भनाई रहेको छ ।
स्वास्थ्यकर्मीहरूले नियमित रुपमा सुगरको परीक्षण गर्ने, रक्तचापको जाँच गर्ने, कान तथा आँखाको परीक्षण गर्ने लगायत सुगर प्रेसरको औषधि पनि निःशुल्क वितरण गर्दै आइरहेको स्वास्थ्य शाखाको भनाई छ ।
घरमै छापा मारेर नेपालगन्जबाट लागुऔषधसहित दुईजना पक्राउ
नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाको पाँचौँ अधिवेशन
बाढी प्रभावित बालबालिका पढाउन अर्बपति शेष घलेको ५७ करोड ८५ लाख सहयोग
संविधानका बाचा पूरा गर्न सरकार प्रतिवद्ध छ: प्रधानमन्त्री
महाधिवेशनमा होमियो काँग्रेस, आजदेखि वडाहरूमा नयाँ नेतृत्व चुनिदैं
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा