पश्चिमका २५ जिल्ला रेड अलर्टमा

पश्चिमतिर बर्षाको ‘अत्यधिक जोखिम’, २५ जिल्लामा यातायात बन्द


सेतोखरी सेतोखरी   ५६ मिनेट अगाडि
पश्चिमतिर बर्षाको ‘अत्यधिक जोखिम’, २५ जिल्लामा यातायात बन्द

नेपालगन्ज। नेपालमा वर्षा गराउने प्रणाली अब पश्चिमतिर बढेको छ। त्यसले लुम्बिनी, कर्णाली र सुदूरका विभिन्न जिल्लाहरूमा अत्यधिक प्रभावति पार्ने भन्दै मौसम पूर्वानूमान महाशाखाले चेतावनी जारी गरेको छ। आइतबारसम्मै यी प्रदेशहरूमा अत्यधिक वर्षाको जोखिम छ। 

महाशाखाका अनुसार पछिल्लो १२ घण्टामा गुल्मी जिल्लाको भार्से मौसम मापन केन्द्रमा ११४ मिलिमिटर वर्षा मापन गरिएको छ। साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केहि स्थानमा भारी देखि धेरै भारी वर्षा भएको छ तथा कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ।

बिहीबार र शुक्रबार गण्डकी र लुम्बिनीका विभिन्न क्षेत्रमा अत्यधिक वर्षा भएको छ । नेपाल मौसम विज्ञान विभागका स्वचालित वर्षा मापन केन्द्रको रेकर्डअनुसार बिहीबार साँझदेखि शुक्रबार साँझसम्म पाल्पाको अर्चलेमा २६७।४ मिलिमिटर वर्षा मापन भएको छ । २४ घण्टामा १४० मिलिमिटरभन्दा बढी वर्षालाई अत्यधिक वर्षा मानिन्छ। यस आधारमा पाल्पाको अर्चलेमा अत्यधिक वर्षा भएको देखिन्छ । त्यस्तै, १०० मिलिमिटरभन्दा बढी वर्षा भएका धेरै केन्द्र छन् ।

त्यस्तै बाँकेको बैजपुरमा १६७.२मिलिमिटर, नवलपरासी पूर्वको गैँडाकोटमा १८३.२, पर्वतको पञ्चासेमा १६७.८, र पाल्पाको कुमालगाउँमा १५५ मिलिमिटर वर्षा भएको छ । अर्घाखाँचीमा १९३.८, सिमलपानीमा १४८.४, तनहुँको अत्रौलीटारमा १६४।४, स्याङ्जाको पञ्जमुलमा १४८.२, पर्वतको कार्किनेटामा १४४, बाँकेको ढकेरीमा १४६.४ र बर्दियाको बेलभरमा १४२.२ मिलिमिटर वर्षा भएको महाशाखाले रेकर्ड राखेको छ।  

लगातार वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि सरकारले मध्य र पश्चिम नेपालका २५ जिल्लामा शुक्रबार साँझदेखि सवारी आगागमन बन्द गरेको छ। मनसुन प्रतिकार्य कमान्ड पोस्टको शुक्रबारको बैठकले धेरै वर्षा भएका र अझै निरन्तर वर्षा हुन सक्ने आकलन गरिएका २५ जिल्लालाई रेड अलर्टमा राख्दै शुक्रबार र शनिबार सवारी आवागमन बन्द गर्ने निर्णय गरेको थियो । तराईका रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलाई रेड अलर्टमा राखेर सवारीसाधन बन्द गरिएको छ । त्यस्तै, पहाडी तथा भित्री मधेशका जिल्ला पाल्पा, अर्घाखाँची, गुल्मी, स्याङ्जा, प्युठान, दाङ र सुर्खेतमा पनि रेड अलर्ट छ । उच्च पहाडी तथा हिमाली जिल्ला गोरखा, लमजुङ मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, कालीकोट, मुगु, हुम्ला, बझाङ, बाजुरा र दार्चुलामा पनि आवागमन बन्द गरिएको छ । 

हिमालतिर हिमपात 
मध्य तथा सुदूरका हिमाली क्षेत्रहरूमा लगातार हिमपात पनि भइरहेको छ। हिमाली जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ को हिल्सा, न्यालुलगायत उच्च क्षेत्रमा शुक्रबार साँझदेखि हिमपात भइरहेको छ। जिल्लामा शुक्रबार बिहानदेखि सुरु भएको वर्षाका कारण साँझदेखि उच्च भूभागमा हिमपात भइरहेको छ। 

चीनसँगको सिमानाका हिल्सामा होटल व्यवसाय गर्दै आएकी स्थानीय लामु लामाका अनुसार हिल्सा, न्यालु, नारा लेखलगायत उच्च स्थानमा शनिबार बिहान पनि हिमपात भइरहेको छ। अहिले हिल्सामा करिब एक फिटसम्म हिउँ जमेको छ। हिल्सामा हिउँ परिरहेका कारणा आवतजावतमा गर्न समस्या भएको लामाको भनाइ छ। 

पाँच हजार मिटर उचाइका अग्ला क्षेत्रमा हिमपात हुँदा उत्तरी हुम्लामा चिसो अचानक अत्यधिक बढेको यारी भन्सार कार्यालयका प्रमुख रामराज जैसीले बताए। सुरुमा पानी परिरहेको थियोे, अहिले हिमपात भइरहेको छ। हिमपात हुँदा चिसो अत्यधिक बढेको प्रमुख जैसिले बताए। 

यस्तै सदरमुकाम सिमकोट नजिकैका बोक्सी हिमाल, पञ्चमुखी, रलिङ हिमाल र चाङ्ला क्षेत्रमा पनि हिमपात भएको छ । यो वर्षको पहिलो हिमपात भएको हो। गत वर्ष असोज २४ गते पहिलो हिमपात भएको थियो, भने यो वर्ष असोजको पहिलो साता ९ गते हिमपात भएको हो। 
शुक्रबारदेखि हिमाली जिल्ला हुम्लामा निरन्तर वर्षा र हिमपात भएपनि हालसम्म क्षति भने अहिलेसम्म नभएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।