नेपालगन्ज। निरन्तर भइरहेको वर्षाका कारण देशका मुख्य राजमार्गहरूलगायत विभिन्न सडकखण्डहरू अवरुद्ध भएका छन्। लुम्बिनी, कर्णली तथा सुदूरपश्चिम लगायत देशभरिका सडकहरू अवरुद्ध हुँदा यातायात ठप्प भएको छ।
कर्णाली राजमार्गका विभिन्न स्थानमा पहिरो तथा ढुङ्गा खसेपछि गगने खोला, नाग्म–जुम्लाको राँका क्षेत्र र बाङ्गेसिमल–दहीखोलालगायतका सडकखण्ड प्रभावित भएका छन्। ती क्षेत्रमा लोडरसहितको टोली परिचालन गरी पहिरो पन्छाउने काम भइरहेको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष सिंह राठौरका अनुसार, कालिकोट, रुकुम, हुम्ला, सुर्खेत र सल्यानका विभिन्न स्थानमा पहिरो खस्दा यातायात प्रभावित भएको हो। सम्बन्धित निकायबाट पहिरो हटाउने कार्य भइरहेको जनाइएको छ। कर्णालीका विभिन्न ७ जिल्लामा पहिरो गएको छ।
भालुवाङ–चकचके–लिवाङ सडकका विभिन्न स्थानमा पहिरो खसे पनि साना सवारीसाधन भने सावधानीपूर्वक सञ्चालन भइरहेका छन्। सडक विभागले सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा तय गर्न चालक तथा सर्वसाधारणलाई आग्रह गरेको छ। सडकको अवस्थाबारे थप जानकारी विभागको आधिकारिक वेबसाइटबाट लिन सकिने विभागले जनाएको छ। जिल्ला प्रशासन कार्यालयहरूले वर्षा भइरहेका बेला यातायात नचलाउन निर्देशन जारी गरेका छन्।
सडक विभागका अनुसार पृथ्वी राजमार्ग, बीपी राजमार्ग, कर्णाली राजमार्गलगायतका महत्वपूर्ण सडकखण्डमा यातायात पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएको छ।
पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर, बाँकेबगर ९चौकीभीर०, जवाङ खोला र फिस्लिङलगायतका स्थानमा पहिरो खसेपछि यातायात पूर्णरूपमा बन्द भएको छ। स्थानीय प्रशासनले अर्को सूचना जारी नभएसम्म उक्त सडकखण्डमा सवारी सञ्चालन नगर्न आग्रह गरेको छ। पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।
त्यस्तै, बीपी राजमार्गअन्तर्गत माम्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेंसी, कटुन्जे र चौकीडाँडालगायतका स्थानमा सडक अवरुद्ध भएको छ। विभिन्न स्थानमा पहिरो खस्नुका साथै डाइभर्सनसमेत बगाएकाले सडक खुलाउने काम भइरहेको सडक विभागले जनाएको छ।
कान्ति राजमार्गको मकवानपुर खण्डमा पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याइएको छ भने ललितपुरतर्फ चपली र तकुर्चेलगायतका स्थानमा पहिरो हटाउने काम भइरहेको छ।
सिद्धिचरण राजमार्गअन्तर्गत ओखलढुङ्गा–सल्लेरी खण्डको सोलु खोला नजिक सडक भासिएपछि आवागमन अवरुद्ध भएको छ। रक ब्रेकरसहितको एस्काभेटर र ह्विल लोडर प्रयोग गरी सडक खुलाउने काम भइरहेको छ।
मध्यपहाडी राजमार्गको निसी गाउँपालिका–कानाबगर खण्डमा लेदोसहितको पहिरो आउने क्रम नरोकिएपछि सडक अवरुद्ध छ। सडक खुलाउन आवश्यक मेसिन तयारी अवस्थामा राखिएको छ।
कालीगण्डकी करिडोरअन्तर्गत जैमिनी नगरपालिका–८, बेलबगरमा ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। पहिरो हटाउन उपकरणहरू तयारी अवस्थामा राखिएको विभागले जनाएको छ।
तमोर करिडोरअन्तर्गत छरुवा खोला, नावा खोला र रानीगाउँ क्षेत्रमा खोलाको बहाव बढेपछि सडक बन्द भएको छ। पानीको सतह घटेपछि सडक खुलाउने तयारी गरिएको छ।
यस्तै, बागलुङ–बेनी सडकको म्याग्दीस्थित हुलाके तथा राप्ती राजमार्गको कपुरकोट–खारखोला क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध भएको छ। दुवै सडकखण्डमा उपकरण परिचालन गरी सडक खुलाउने प्रयास भइरहेको छ।
लुम्बिनी र कर्णालीसहित देशका सबैजसो मुख्य राजमार्ग-सडकहरू बन्द
‘नेपालको पुन: निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेल बेलायतले नेतृत्व गर्नसक्छ’
पश्चिमतिर बर्षाको ‘अत्यधिक जोखिम’, २५ जिल्लामा यातायात बन्द
सगरमाथादेखि समुद्रसम्म, पशुपतिनाथदेखि बुद्धकाे बाटाेसम्म
यी हुन् बाँकेका पालिकामा काँग्रेस हाँक्ने नेतृत्व
लुम्बिनीमा देउवा समूहको महाधिवेशन गर्ने जिल्ला संयोजकहरू को-को?