हावाहुरी, बर्षा, बाढी र पहिरो : लुम्बिनी प्रदेशको अवस्था कस्तो छ?


सेतोखरी सेतोखरी   ४३ मिनेट अगाडि
हावाहुरी, बर्षा, बाढी र पहिरो : लुम्बिनी प्रदेशको अवस्था कस्तो छ?

नेपालगन्ज। लगातारको वर्षा र हावाहुरीका कारण लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा ब्यापक क्षति भएको छ। दाङ, बाँकेलगायतका क्षेत्रमा दुई दिनदेखि हावाहुरीसँगै ठूलै वर्षा भएको थियो। 

पहिरो तथा डुबानका कारण ४ सयभन्दा धेरै मानिस विस्थापित भएका छन्। भने केहीको मृत्यु पनि भएको छ। यहाँका विभिन्न जिल्लाहरूमा लामो दूरीका सवारी सधान चलाउन रोक लगाइएको छ। 

दाङमा हावाहुरी र वर्षाका कारण किसानले लगाएको धानबालीमा क्षति पुगेको छ। भित्र्याउने तयारीमा रहेको धान ढलेपछि किसान प्रभावित भएका छन्। जिल्लाका केही विद्यालयका छानासमेत हावाहुरीले उडाएको छ। बाँकेका केही स्थानमा पनि क्षति भएका छन्। 

आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयमा रहेको प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार प्यूठानको स्वर्गद्वारी नगरपालिका–२ धर्मशाला तथा गौशालामा हावाहुरीका कारण १९ वटा टिनका पाता उडेका छन्। नौबहिनी गाउँपालिका–७ चोरधारमा पाँच वटा घरको छाना उडाएको छ। विउमन रोकाय, मोतिराम सुनार, टोपाराम सुनार, वीरबहादुर घर्ती र धीरबहादुर जिसीको घरको छाना हावाहुरीले उडाएको केन्द्रले जनाएको छ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ भुजुङमा पहिरोको जोखिम बढेपछि ३० घरधुरी प्रभावित भएका छन्। जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानका रूपमा सामुदायिक भवनमा सारिएको छ। गुल्मीको चन्द्रकोट गाउँपालिका–भुल्केमा पनि करिब ४० घर पहिरोको जोखिममा परेका छन्।

जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ। पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा वर्षाको पानी घरमा पसेको छ। इलाका प्रहरी कार्यालय सुस्तामा समेत पानी पसेको जानकारी केन्द्रले दिएको छ।

लगातारको वर्षाका कारण प्रदेशका विभिन्न स्थानका सडकसमेत अवरुद्ध भएका छन्। सडक अवरुद्ध भएपछि यातायात सञ्चालनमा समस्या भएको छ भने कतिपय स्थानमा सडक खुलाउने प्रयास भइरहेको छ। प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार अहिले पनि प्रदेशका विभिन्न जिल्लामा वर्षा भइरहेको छ। वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बग्ने र तराई क्षेत्रमा नदी तथा खोलाको बहाव बढेर डुबान हुनसक्ने जोखिम रहेको छ।

केन्द्रले वर्षाको समयमा नदी, खोला तथा पहिरोको जोखिम रहेका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न तथा जोखिमयुक्त स्थानमा रहेका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ। स्थानीय तह, सुरक्षा निकाय र सम्बन्धित निकाय सम्भावित विपद्का घटनामा तत्काल उद्धार तथा राहतका लागि तयारी अवस्थामा खटिएका छन्।

मौसम पूर्वानूमान महाशाखाका अनुसार शनिबार राति पनि राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारी देखि धेरै भारी तथा मधेश र बागमती प्रदेशको एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ्र गण्डकी र लुम्बिनी प्रदेशको एक(दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ। मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू(भागका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू(भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ।