राप्ती प्रतिष्ठानमा ‘बेवारिसे’ बिरामी, लाखौं बक्यौता भएपछि परिवार खोज्न गुहार


सेतोखरी सेतोखरी   १ घण्टा अगाडि
राप्ती प्रतिष्ठानमा ‘बेवारिसे’ बिरामी, लाखौं बक्यौता भएपछि परिवार खोज्न गुहार

घाेराही। दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीहरू बेवारिसे हुन थालेपछि प्रतिष्ठानले परिवार र आफन्तको खोजी थालेको छ। 

यहाँ एकजना बिरामी २६ दिनदेखि आईसीयूमा उपचाररत छन्। तर उनका आफन्त वा परिवार कोही पनि अस्पतालको सम्पर्कमा छैनन्। अस्पतालले नै उनलाई उपचार अनि स्याहार गरिरहेको छ। 

कोहलपुर घर भएका ४१ वर्षीय प्रकाश चौधरीलाई परिवारजन तथा आफन्तको सम्पर्कबिनै प्रतिष्ठानले निरन्तर उपचार गरिरहेको छ। चौधरी विगत २६ दिनदेखि आईसीयूमा उपचाररत रहेको प्रतिष्ठानका अस्पताल निर्देशक सहप्राध्यापक डा। सुरेश रसाइलीले जानकारी दिए। उनका अनुसार सुरुमा एकजना महिलाले उनलाई त्यहाँ ल्याएर छोडेकी थिइन्। तर केही दिनपछि उनि गायब भइन्। आफूलाई बिरामी पुरुषको श्रीमति बताउने उनि त्यसपछि कहिँकतै सम्पर्कमा छैनन्। 

चौधरीको उपचारका क्रममा हालसम्म अस्पतालतर्फ बेड चार्जसहित इन्भेष्टिगेसनमा ५१ हजार ७ सय ५० रुपैयाँ र औषधितर्फ १ लाख ५५ हजार २ सय ४६ रुपैयाँ खर्च भएको छ। यी सबै गरेर उपचारमा हालसम्म कुल २ लाख ६ हजार ९ सय ९६ रुपैयाँ खर्च भइसकेको छ। 

लामो समयदेखि आईसीयूमा उपचाररत चौधरीका परिवारजन तथा आफन्त हालसम्म अस्पतालको सम्पर्कमा नआएको डा। रसाइलीले बताए। परिवारजनको उपस्थिति नभए पनि अस्पतालले मानवीय दायित्वअन्तर्गत चौधरीको उपचारलाई निरन्तरता दिइरहेको पनि उनले बताएका छन्। 

त्यस्तै, लमहीका ३१ वर्षीय सन्तोष क्षेत्री पनि विगत ६ दिनदेखि प्रतिष्ठानको इमरजेन्सीमा बेवारिसे अवस्थामा उपचाररत छन्। क्षेत्रीको उपचारमा अस्पतालतर्फ इन्भेष्टिगेसनमा १ हजार २ सय रुपैयाँ र फार्मेसीतर्फ करिब ६५ हजार रुपैयाँ खर्च भएको छ। बेड चार्जसमेत जोड्दा उनको उपचारमा हालसम्म करिब ७० हजार रुपैयाँ खर्च भएको डा। रसाइलीले जानकारी दिए। 

क्षेत्रीका परिवारजन तथा आफन्त पनि हालसम्म अस्पतालको सम्पर्कमा नआएको प्रतिष्ठानले जनाएको छ। दुवै बिरामीको उपचार तथा हेरचाह अस्पतालले आफ्नै तर्फबाट आवश्यक व्यवस्थापन गर्दै आएको छ। मादक पदार्थ सेवन गरेकाे अवस्थामा उनलाई प्रहरीले अस्पतालमा छोडेकाे थियाे।

अस्पताल निर्देशक डा। रसाइलीले दुवै बिरामीका परिवारजन, आफन्त वा उनीहरूलाई चिन्ने व्यक्तिलाई प्रतिष्ठानसँग सम्पर्क गर्न आग्रह गरेका छन्। लामो समयदेखि परिवारको सम्पर्कबाहिर रहेका बिरामीको उपचारमा निरन्तर खर्च भइरहेको र उपचार तथा व्यवस्थापनका लागि परिवारजनको समन्वय आवश्यक रहेको उनि बताउँछन्।