सांसद खगेन्द्र सुनारकाे विवादास्पद अडिओ प्रकरण

खगेन्द्रमाथि ‘रोक’ मात्रै हो कि ‘निलम्बन’ नै गरिएकाे हाे?


सेतोखरी सेतोखरी   ६ घण्टा अगाडि
खगेन्द्रमाथि ‘रोक’ मात्रै हो कि ‘निलम्बन’ नै गरिएकाे हाे?

नेपालगन्ज। एउटा विदास्पद अडिओ सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारमाथि पार्टीले छानबिन अघि बढाएको छ। उक्त अडिओमा सुनारले एकजना महिलालाई अश्लील गाली गर्दै ‘भिलेन’ शैलीमा अट्टहास हाँसो हास्ने र ती महिलालाई ज्यान मार्ने धम्कीसमेत दिएको समेत सुन्न सकिन्छ। सुनार बाँके क्षेत्र नं ३ बाट निर्वाचित सांसद हुन्।

जनआस्था साप्ताहिकको अनलाइन संस्करणले सार्वजनिक गरेको उक्त अडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। उनिमाथि कारबाही गर्न रास्वपाकै नेता तथा कार्यकर्ताहरूले पनि सामाजिक सञ्जालमार्फत आह्वान गर्न थालेपछि पार्टीले मंगलबार बिहानै एक विज्ञप्ति जारी गरेको हो। 

विज्ञप्तिमा ‘आन्तरिक छानबिन नसकिंदासम्म सार्वजनिक कार्यक्रममा सहभागी रोक’ लगाइएको भन्ने उल्लेख भए पनि यो एक प्रकारको निलम्बनसरह भएको रास्वपा नेपाले जनाएका छन्। 

पार्टीका एकजना उच्च पदाधिकारीले सेतोखरीसँग कुराकानी गर्दै भनेका छन् ‘विज्ञप्तिमा औपचारिक भाषा लेखिन्छ। तर यो एकप्रकारको निलम्बनजस्तै हो। पछि राज्यका निकायहरूले छानबिन गर्लान्। प्रतिनिधिसभाले पनि गर्ला। अहिलेका लागि उहाँलाई पार्टीले आन्तरिक निलम्बन गरेको हो। यो निलम्बन नै हो।’

याे पनि पढ्नुहाेस्-

महिलामाथि अश्लील गाली र अट्टहास हाँसाे : फेरि विवादमा तानिए बाँकेका सांसद खगेन्द्र सुनार 

पार्टीले सञ्चालन गरेको ‘हामी आउँदैछौं’ अभियानैका क्रममा खगेन्द्र हाल दाङ जिल्लामा छन्। आजै उनि सहभागी हुनेगरी घोराहीमा विभिन्न कार्यक्रमहरू तय गरिएका छन्। तर बिहानै पार्टीले विज्ञप्ति निकाल्दै उनलाई सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुन रोक लगाएको छ। 

‘यस विषयको सत्यतथ्य अन्वेषण गर्न पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकिएको छ’ पार्टीका महामन्त्री विपिनकुमार आचार्यले विज्ञप्तिमार्फत भनेका छन् ‘अनुसन्धान प्रक्रिया प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्नका खातिर, उक्त छानबिन निष्कर्षमा नपुग्दासम्मका लागि उहाँलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइन्छ।’

विज्ञप्तिमा सञ्चारमाध्यममार्फत महिलाको मर्यादा र सम्मानमा आँच पुर्‍याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनजस्ता गम्भीर र संवेदनशील विषयहरू बाहिर आएको भन्दै पार्टीले यस विषयलाई सामान्य रूपमा लिन नसक्ने स्पष्ट पारेको छ। विधिको शासन, सुशासन र नागरिक जवाफदेहिताप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै रास्वपाले महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादा उल्लङ्घन र फौजदारी कसुरका विषयमा पार्टीको ‘शून्य सहनशीलता’को नीति रहेको जनाएको छ। 

त्यस्तै यस विषमा राज्यका निकायले गर्ने छानबिनमा पनि पार्टीले सघाउने विज्ञप्तिमा उल्लेख गरिएको छ। यी विषयहरूको गाम्भीर्यतालाई मनन गर्दै राज्यका सम्बन्धित निकायहरूबाट अविलम्ब निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास व्यक्त गरेको छ। सरकारी अनुसन्धान प्रक्रियामा पार्टीको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता पनि जनाइएको छ।

सार्वजनिक भएका यी विषयहरूको गाम्भीर्यतालाई मनन गरी राज्यका सम्बन्धित निकायहरूबाट अविलम्ब स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुनेछ भन्ने हाम्रो विश्वास छ। राज्यका ‘निकायले गर्ने अनुसन्धान प्रक्रियामा पार्टीको तर्फबाट पूर्ण रूपमा सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दछौं।

'कानुनभन्दा माथि कोही पनि हुँदैनु भन्ने लोकतान्त्रिक मान्यतामा रास्वपा दृढ छ। राज्यको स्वतन्त्र अनुसन्धान र पार्टीको आन्तरिक छानबिनबाट प्राप्त हुने निष्कर्षका आधारमा पार्टीले कानुन र विधानबमोजिम थप कदम चाल्नेछ’ विज्ञप्तिमा भनिएको छ ‘कानुनको उल्लङ्घन वा पदीय आचरणविपरीतको कार्य गर्ने जो-कोहीलाई राजनीतिक संरक्षण दिने कार्य रास्वपाबाट कहिल्यै हुने छैन भन्ने कुरामा हामी सम्पूर्ण जनसमुदायलाई आश्वस्त पार्न चाहन्छौं।’