महिलामाथि अश्लील शब्द र अट्टहास हाँसो

फेरि विवादमा तानिए बाँकेका सांसद खगेन्द्र सुनार 


सेतोखरी सेतोखरी   ४ घण्टा अगाडि
फेरि विवादमा तानिए बाँकेका सांसद खगेन्द्र सुनार 

नेपालगन्ज। बाँके क्षेत्र नं ३ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनुवार फेरि एउटा विवादमा तानिएका छन्। राजनीतिमा आउनुभन्दा अघि महिलाहरूमाथि निरन्तर हिंसा गरेको आरोप लागेका सुनारको अर्को एउटा भिडिओ फेरि सामाजिक सञ्जालहरूमा छ्याप्पछ्याप्ती छ। 

हालैमात्र जनआस्था साप्ताहिकको अनलाइन संस्करणबाट सार्वजनिक भएको उक्त अडिओ संवादमा उनले एकजना महिलालाई एकोहोरो गाली गलौज र अश्लील शब्दहरू बोलेको सुन्न सकिन्छ। अडियो सुन्दा ती महिला कुनै राजनीतिज्ञ हुन्। यहिँनेर उक्त सञ्चारमाध्यमले भने ती महिला नेपाली काँग्रेसका तर्फबाट बाग्मती प्रदेश सभा सदस्य र राज्यमन्त्रीसमेत रहेको दाबी गरेको छ। 

यो अडिओमा महिलाले दाबी गरेअनुसार सुनारले उनलाई श्रीमतीकै दर्जा दिएका थिए र नाङ्गा भिडिओहरू बनाएर निरन्तर पैसा असुल गर्दै आएका थिए। यो अडिओमा पनि उनले समय नै तोकेर आठ बजेसम्म पैसा आउँछ कि आउँदैन भनेर निरन्तर सोधेका छन्। र अन्त्यमा ती महिलाले विवश भएर पैसा आउँछ भनेपछि सुनार कुनै फिल्मको भिलेनजसरी हाहाहा गरेर हाँसेका छन्। 

‘मलाई बूढी भन्ने, तर सधैँ कुट्ने, पिट्ने, काट्छु भन्ने,मार्छु भन्ने,मेरो नांगो भिडियो बनाउने, दुनियाँथरी टर्चर दिने,पैसा दिन्नँ भनेपछि पिट्ने,आखिर मैले यो कहिलेसम्म सहने’ ती महिलाले भनेकी छन्   ‘हजुरले मेरो नांगो भिडियो बनाउनुभयो, मैले सहेँ,तर मलाई किन यसरी टर्चर गरिरहनुहुन्छरु’ सुनारले एक कांग्रेस नेतासँग नाम जोडेर ती महिलालाई ‘वेश्या’ भन्दै गालीगलौज गरेको पनि अडियोमा सुनिन्छ । भनेका छन्, ‘दुनियाँसँग सुतेकी यस्तालाई माननीय भन्नुपर्ने रे,हा हा हा।’ 

तर यो अडिओको स्वतन्त्र पुष्टी भइसकेको छैन। 

केही समयअघि नेपाल प्रहरीका आइजिपी दानबहादुर कार्कीमाथि छानबिन हुनुपर्छ भन्दै संसददेखि संसदीय समितिहरूमा कुर्लिएका सुनारका यस्ता विवाद भने नयाँ होइनन्। 

सुनारले नै आइजिपीमाथि छानबिन हुनुपर्ने मुद्दा निरन्तर उठाउन थालेपछि त्यसबारे अनुसन्धान गर्न एउटा समितिसमेत बनेको छ। त्यसमा रास्वपाका सांसद मनिष झा संयोजक छन्। हाल पार्टीले स्थानीय निर्वाचनलाई लक्षित गरी सञ्चालन गरेको अभियान अन्तर्गत सुनार अरु केन्द्रीय सदस्य र सांसदहरूजस्तै लुम्बिनीका विभिन्न जिल्लाहरूमा खटिएका छन्। सोमबार उनको यस्ता विवादास्पद अडिओ सामाजिक सञ्जालमा भाइरल भइरहँदा उनि यही अभियान अन्तर्गत दाङ जिल्लामा आयोजित कार्यक्रममा भाषण गरिरहेका थिए। 

बाँके जिल्ला निर्वाचन क्षेत्र नं ३ बाट प्रत्यक्ष निर्वाचन जितेका सांसद हुन्, खगेन्द्र सुनार। कुनै बेला रेडियो पत्रकारसमेत बनेका खगेन्द्र खासगरी आफ्नै दलित समुदायको मुद्दा मामिलालाई सडकमा ल्याउँदा ल्याउँदै चर्चित बने। 
जति उनलाई ती मुद्दाहरूले पछ्याए, उनले मुद्दाहरूलाई पछ्याए त्योभन्दा धेरै उनले विवादहरू पछ्याउन थाले। जसका कारण उनि निरन्तर चर्चामा आइरहे। माइतीघरका सडकमा होस् वा देशका कुनै ठाउँका घटनाहरू सकेसम्म खगेन्द्र आफ्ना केही दलबलसहित पुगहाल्थे अनि आफ्नो ‘स्टन्ट’ देखाइहाल्थे। जहाँ चर्चा पनि थियो, विवाद पनि। उनकै कारण न्याय पाएकाहरू थुप्रै छन्, उनै कारण जिन्दगी वर्वाद भयो भन्नेहरू पनि छन्। 
उनि आफ्नै समुदायमा जति चर्चामा हुन्छन्, त्यत्तिकै विवादित पनि। अनि जति चर्चामा आउँछन् उति विवादित पनि।  

माइतीघरमा आफूलाई साङ्लाले बेरेर राज्यलाई प्रश्न गरिरहने उनै खगेन्द्र सुनार कुनै बेला काठमाडौंका तिनै गल्लीहरूबाट निस्किएका एक ‘नागरिक आवाज’ थिए। 

दलित समुदायका अधिकारका लागि चर्को स्वरमा बोलेरै चर्चामा आएका खगेन्द्रमाथि थुप्रै आरोपहरू पनि थिए।  

जेनजी विद्रोहपछि सुशीला कार्कीको नेतृत्वमा बनेको सरकारमा मन्त्री बन्नेहरूको एउटा नाम लिस्ट बाहिरियो। जसमा खगेन्द्र सुनारको पनि नाम थियो। तर उनिमाथि लागेका थुप्रै आरोपहरूबारे प्रधानमन्त्री कार्यालयमै उजुरी परेपछि उनि मन्त्री हुन सकेनन्। 

 त्यो बेला उनिमाथि स्वास्थ्य संस्था तोडफोड तथा स्वास्थ्यकर्मीमाथि हातपातको किटानी जाहेरी परेको पुरानो विवाद थियो।  सुर्खेत जिल्ला अस्पतालका तत्कालीन प्रमुख डाक्टर सोजन सापकोटाले खगेन्द्र सुनारविरुद्ध अस्पतालमा तोडफोड गरेको र स्वास्थ्यकर्मीमाथि हातपात तथा अभद्र व्यवहार गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएका थिए। यो फौजदारी प्रकृतिको आरोप मन्त्री बन्ने छलफलका क्रममा उनको मुख्य नैतिक तथा कानुनी बाधा बनेको थियो। 

त्यस्तै अदालतको अवहेलना र अव्यवहारिक अभिव्यक्तिहरू विवादित रहे। जस्तो कि रुकुम पश्चिमको सोती घटनाको अदालती फैसलाप्रति असन्तुष्टि जनाउने क्रममा अदालत परिसरमै प्रदर्शन गरेको, न्यायाधीशहरूमाथि अपमानजनक टिप्पणी गरेको र गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको आरोपमा उनिविरुद्ध सर्वोच्च अदालतमा परेको अदालतको अवहेलनासम्बन्धी मुद्दा चर्चामा आएको थियो। त्योसँगै सार्वजनिक निकाय र प्रहरीसँगको निरन्तर मुठभेडमा उत्रिइरहने उनि प्रहरीमाझ पनि रुचाइएका पात्र थिएनन्।

 माइतीघर तथा संसद् भवन आसपासका निषेधित क्षेत्र तोड्न खोज्दा धेरैपटक पक्राउ परेको र सार्वजनिक मञ्चहरूमा सुरक्षा निकाय तथा सरकारी अधिकारीहरूबारे दिएका कडा र आक्रामक अभिव्यक्तिहरूलाई लिएर नागरिक वृत्तबाट आलोचना भएको थियो।  

सुनारमाथि सामाजिक सञ्जालमा चरित्रहत्या र साइबर बुलिङको आरोप पनि थियो। सामाजिक सञ्जालमा विरोधी, वकिल तथा फरक मत राख्ने व्यक्तिहरूविरुद्ध तिखो र अमर्यादित भाषा प्रयोग गरी गालीगलौज र चरित्रहत्या गरेको भन्दै परेका उजुरी र विवादहरू बाहिरिएका थिए।  

यहीबीचमा गत फागुनमा प्रतिनिधिसभाको निर्वाचन भयो। र उनले राष्ट्रिय स्वतन्त्र पार्टीको टिकट लगेर बाँके क्षेत्र नं ३ बाट उम्मेदवारी दिए। देशभरि रास्वपाकै लहर चलेको थियो। त्यही लहरमा उनले पनि चुनाव जिते। अनि उही स्वरुपमा सांसद बनेर आए। खासगरी रास्वपा सभापति रवी लामिछानेको निकट मानिने उनि सांसद भएपछि झन् थामिने कुरै थिएन। उनले सभापति रवी लामिछानेलाई खुट्टामै ढोगिदिन्छन् र साइनो भने भिनाजु लगाउने गरेका छन्। 

संसदमा पनि चर्को भाषण अनि सडकमा पनि उस्तै। ‘ओशो’को चेला बनेका खगेन्द्रको पहिरन अनि रहनसहन पनि उस्तै छ। सांसद बनेपछि पनि उनका धेरै त्यस्ता अभिव्यक्तिहरू विवादित र आलोचित छन्।