श्रीमतिको हत्या गरेर आफू रुखमा झुन्डिए उमेश, चार वर्षीय छोरा पनि घाइते


सेतोखरी सेतोखरी   ४ घण्टा अगाडि
श्रीमतिको हत्या गरेर आफू रुखमा झुन्डिए उमेश, चार वर्षीय छोरा पनि घाइते

नेपालगन्ज। धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्यापछि श्रीमानले पनि झुन्डिएर आत्यहत्या गरेका छन्। उनिहरूका चार वर्षीय छोरा भने घाइते अवस्थामा फेला परेका छन्। 

गणेशमान चारनाथ नगरपालिका–४, भरतपुरका ३५ वर्षीय उमेश यादव मिथिला बिहारी नगरपालिका–२ स्थित सिर्सिया जाने बाटोको दक्षिणपट्टि आँपको रुखमा शव झुण्डिएको अवस्थामा फेला परेको थियो। 

त्यसअघि उक्त स्थानबाट १ किलोमिटर टाढा मिथिलेश्वरस्थित ससुरालीमा यादवको ३० वर्षीया श्रीमती रीना यादव मृत अवस्थामा फेला परेकी थिइन्। उनि लामो समयदेखि माइतीमै बस्दै आएकी थिइन्। 

प्रहरीका अनुसार स्थानीयले जानकारी गराएपछि प्रहरी रीना भेटिएको घरमा पुगेको थियो। त्यसपछि उनका श्रीमान उमेशको खोजी गर्ने क्रममा केही पर रुखमा झुन्डिएको अवस्थामा फेला परेका थिए। 

रीनामाथि धारिलो हतियारले प्रहार भएको चोटहरु देखिएको धनुषा प्रहरीले जनाएको छ। उनिहरूको चार वर्षीय छोरा सम्राट यादवमाथि पनि धारिलो हतियार प्रहार भई घाइते अवस्थामा फेला परेका थिए। उनलाई उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल लगिएको छ। 

धनुषा प्रहरीका अनुसार घटना कात्तिक ८ गते बिहान करिब २ बजेतिर उक्त घटनाबारे सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय धनुषाधामबाट प्रहरी निरीक्षक राजेश कुमार शर्माको कमान्डमा टोली घटनास्थल पुगेको थियो। त्यहाँ रिनाको घाँटीमा धारिलो हतियारले काटिएको चोट रहेको र उनको मृत्यु भइसकेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

घटनामा घाइते भएका बालक सम्राटको दाहिने तिघ्रामा काटिएर चोट लागेको छ। घटनास्थलबाट रगत लागेको चक्कु बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले रिनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।