बाटोमा खेलिरहेका थिए छ वर्षीय बालक, ढुङ्गाले हानेर हत्या !


सेतोखरी सेतोखरी   १ घण्टा अगाडि
बाटोमा खेलिरहेका थिए छ वर्षीय बालक, ढुङ्गाले हानेर हत्या !

नेपालगन्ज। बाटो खेलिरहेका बालकलाई ढुङ्गाले हिर्काएर हत्या गरेको आरोपमा रुकुम पश्चिम प्रहरीले एकजनालाई पक्राउ गरेको छ। रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको थियो। बाफिकोट गाउँपालिका–२ स्वाराका बलबहादुर नाथका ६ वर्षीय छोरा रमेश नाथको ढुङ्गा प्रहारबाट ज्यान गएको हो।

प्रहरीका अनुसार शुक्रबार साँझ करिब साढे ५ बजेको समयमा बालक घरनजिकैको बाटोमा खेलिरहेका थिए। सोही क्रममा स्थानीय ३३ वर्षीय भक्तबहादुर नाथले एक्कासी बालकको टाउकोमा ढुङ्गाले प्रहार गरेका थिए। आक्रमण गर्ने भक्तबहादुरको मानसिक अवस्था ठीक नभएको बुझिएको छ।

ढुङ्गा प्रहारबाट गम्भीर घाइते भएका बालकलाई तत्काल उपचारका लागि स्थानीय पिपल स्वास्थ्य चौकीमा लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि उनलाई जिल्ला अस्पताल सल्ले पुर्‍याइएको थियो। तर, उपचारकै क्रममा शुक्रबार राति १० बजे चिकित्सकले बालकलाई मृत घोषणा गरेका हुन्।

घटनालगत्तै ढुङ्गा प्रहार गर्ने भक्तबहादुर नाथलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।