‘डिजि’देखि मन्त्री ईस्तियाक राईसम्मले कमिशन मागेको खुलासा

बाँकेका पुर्वाधार निर्माणमा घोटाला: प्रधानमन्त्री कार्यालयमा उजुरी


‘डिजि’देखि मन्त्री ईस्तियाक राईसम्मले कमिशन मागेको खुलासा

नेपालगन्ज आईपुगेको अनुगमन टोली र प्रधानमन्त्री कार्यालयमा दर्ता गरिएको उजुरी । तस्विर/ सेतोखरी

नेपालगन्ज: बाँकेमा भएका विकास निर्माणका समग्र गतिविधीमा करोडौ रूपैयाँ हिनामिना र भ्रष्टाचार भएको खुलेको छ । बाँकेमा भएका हरेक विकास निर्माणका कामबाट शहरी विकास मन्त्री मोहमद ईस्तियाक राई, मन्त्रालयका सचिव र सडक डिभिजनका इन्जिनियरले करोडौं रूपैयाँ कमिशनका रूपमा लिएको खुलेको छ ।

कोहलपुर-जमुनाह फोर लेन सडक लगायत यहाँका बाहिरी तथा भित्रि सडक, ढलनाला, यात्रुप्रतिक्षलय लगायत अन्य विविध शिर्षकका विकास निर्माणमा करोडौं हिनामिना भएको भन्दै प्रधानमन्त्रीको कार्यालयमा मन्त्री राईलगायतको उक्त टीमका बिरूद्ध उजुरी दर्ता भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्यालयमा दर्ता भएको उक्त उजुरीमा नेपालगन्जको मुख्य सडक निर्माणमा संलग्न कालिका निर्माण कम्पनीलगायतका निर्माण कम्पनीबाट शहरी विकास मन्त्री ईस्तियाक राई सडक डिभिजनका ‘डिजि’ लगायतको टोलीले पाँच करोड रूपैयाँ माग गरि लिएको उल्लेख छ ।

मन्त्री राई लगायतको टोलीले निर्माण कम्पनीलाई विभिन्न प्रलोभन तथा प्रभाव र दवावमा पारि परियोजना कमिसन बापत पाँच करोड रुपैयाँ बुझिलिएको उक्त उजुरी पत्रमा उल्लेख गरिएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

बाँकेमा सडक, पार्किङ्ग, फुटपात, यात्रु प्रतिक्षालय, बसविसौनी लगायतका पुर्वाधार निर्माणमा एशियाली विकास बैंक लागायतका दातृ निकायबाट एक अर्ब ७७ करोड २४ लाख ५१ हजार ३ सय ३० रूपैया सहयोग प्रदान भएको थियो ।

उक्त बजेटबाट भएको सडक लगायतका विकास निर्माणमा करोडौं रूपैयाँ हिनामनिा भएको भन्दै प्रधानमन्त्रीको कार्यालयमा छानबीनका लागि उजुरी दर्ता भएको छ । जसमा यो पुरै बजेट खर्च भएको कतै देखिएको छैन । यसको हरहिसाब समेत निर्माण कम्पनीले पारदर्शी रूपमा सार्वजनिक गरेका छैनन् ।

प्रधानमन्त्री कार्यालयमा उक्त आर्थिक हिनामिनाको छानबीन गरी दोषीमाथि कानूनी कारवाही गरि पाउँ भनि नेपालगन्जको एक नागरिक समाजले उजुरी दर्ता गराएको हो ।

उक्त उजुरीमा एडिवीको रूपैयाँमा मन्त्री राई, सचिव र सडक डिभिजनका इन्जिनियर लगायतको टोलीले पाँच करोड लिएपछि मापदण्ड विपरित निर्माण भएका पुर्वाधार समेत डिजाइन पास गर्न दबाब दिएको उक्त उजुरीपत्रमा उल्लेख छ ।

गुरूयोजना अनुसार विकास निर्माणको काम नहुँदा पनि निर्माणमा संलग्नमाथि कारवाही भएको छैन् उक्त उजुरी पत्रमा भनिएको छ ‘नक्शाअनुसारको पुर्वाधार निर्माण भएकै छैन् ।’

प्रधानमन्त्रीको कार्यालयमा बाँकेको समग्र विकासमा आर्थिक घोटाला भएको उजुरी परेपछि कार्यालयले मन्त्रालयका सचिवको नेतृत्वमा चार समस्य छानबीन तथा अनुसन्धान टोली नेपालगन्ज पठाएको छ ।

आईतबार नेपालगन्ज आएको उक्त टोलीले यहाँको विकास निर्माणको स्थलगत अनुगमन गर्नुका साथै सम्बन्धित निकाय र सरोकारवालासँग भेटघाटलाई तीब्र पारेको छ ।

अनुगमन-अध्ययनपछि केही दिनमा काठमाडौं फर्किने उक्त टोलीले प्रधानमन्त्री कार्यालयमा परेको उजुरी बमोजिक गरिएको अध्ययन, अनुसन्धान र छानबीनपछि तयार पारिने प्रतिवेदन सार्वजनिक गर्ने बताएको छ । छानबनि र अनुसन्धानबाट तयार हुने प्रतिवेदनका आधारमा दोषीमाथि कानूनी कारवाही अघि बढाइने उक्त टोलीका एक सदस्यले बताए ।

यस विषयमा मन्त्री राईसंग बुझ्न खोज्दा समाचार तयार पार्दा सम्म उनको टेलिफोनमा सम्र्पक हुन सकेन ।