कम्दीमा प्रयोगशाला सञ्चालन


कम्दीमा प्रयोगशाला सञ्चालन

नेपालगन्ज : डुडुवा गाउँपालिकाको आर्थिक सहयोगको स्वास्थ्य चौकी कम्दीमा पहिलो पटक प्रयोेगशाला संचालनमा आएको छ । गाउँपालिकाको ७ लाख सहयोगमा अत्याधुनिक प्रयोगशाला मंगलबारबाट विधिवत रुपमा संचालनमा आएको हो । गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले आज प्रयोगशालाको उद्घाटन गरेका छन् ।

प्रयोगशालाले डुडुवा गाउँपालिका वडा नम्बर ४ र ५ का जनतालाई सेवा दिने अध्यक्ष चौधरीले बताए । गाउँपालिकाले सात लाख लगानीमा उक्त प्रयोगशाला संचालनपछि नेपालगन्जमा आएर निजि क्लिनिकमा महंगो शुल्कमा प्रयोगशाला जानुपर्ने बाध्यता हटेको चौधरीले बताए । प्रयोगशालाबाट दिसापिसाव, रगत, खकार लगायतको निशुल्क चेकजाँच गरिने भएको छ । गाउँपालिकाले चालु आर्थिक बर्षदेखि घरघरमा स्वास्थ्य सेवा अभियान संचालन गरेकोले त्यही अभियान अन्तर्गत कम्दी स्वास्थ्य चौकीमा प्रयोगशाला संचालनमा आएको हो ।


प्रयोगशाला उद्घाटनमा डुडुवा ५ का अध्यक्ष पर्शुराम बुढाथोकी, कम्दी स्वास्थ्यचौकी ईन्चार्ज थिरमान रोकाय, हिरमिनिया स्वास्थय चौकी कृष्ण केसी, डुडुवा स्वास्थ्य सेवा शाखा ईन्चार्ज धनबहादुर बुढालगायतले आफआफ्नो धारणा राखेका थिए । गाउँपालिकाले चालू आर्थिक बर्षमा स्वास्थ्य क्षेत्रमा धेरै लगानी गरेको सहभागीले बताएका थिए । गाउँपालिकाले स्वास्थ्य बीमा, सुत्केरी महिलाको नियमित चेकजाँच अभियान, दुई एम्बुलेन्स संचालन र महिलाहरुको लागि सेनेरेटरी प्याड वितरणको तयारी समेत गरिएको छ ।