कालो कपास नियन्त्रण गर्न निर्देशन


कालो कपास नियन्त्रण गर्न निर्देशन

नेपालगन्ज : कपास विकास समितिलाई प्रभावकारी गराउँनका लागि सुझाव पेश गर्न गठित कार्यदलले भारत लगायत तेस्रो देशबाट भित्रिने कालो कपास नियन्त्रण गर्न निर्देशन दिएको छ ।


त्यस्तो कपासले नेपालीको स्वास्थ्यमा गम्भीर असर पार्नुका साथै स्वदेशी कपास उद्योगलाई समेत घाटा गरेको कार्यदलको निष्कर्ष निकाल्दै दलले सरकार र समिति दुबैलाई यस्तो निर्देशनसहितको सुझाव दिएको कपास विकास समितिका निमित्त प्रमुख विजयकुमार जोशीले बताए ।
२०३७ सालबाट शुरू भएको कपास विकास समितिलाई प्रभावकारी कसरी बनाउँन सकिन्छ भनी मागिएको सुझावमा उक्त गठित समितिले संकलन गरेको सुझावमा यस्तो निष्कर्ष आएको उनले बताए ।


कृषि मन्त्रालयका सहसचिव गोविन्दप्रसाद शर्माको संयोजकत्वमा कार्यदल गठन गरिएको कार्यदलले कपास विकास समितिलाई बिदेशबाट आयात हुने कालो कपास नियन्त्रण गर्न सुझाव दिएको उनले जानकारी दिए । नेपालमा वार्षिक तेस्रो मुलुकबाट चार अर्वको कालो कपास भित्रिने गरेको उनले बताए । कार्यदलले त्यस्तो कपासको गुणस्तर परीक्षण गर्दै नियमन गर्नुपर्ने सुझाव दिएको जोशीले जानकारी दिए । उक्त कार्यदलले कृषि मन्त्रालयमा सुझाव पेश गरिसकेको उनले बताए ।


उक्त कार्यदलले कपास विकास समितिलाई माथि उकास्न देशभर सञ्चाल गर्न सुझाव दिएको जोशीले बताए । उनले अब कपास विकास समिति नयाँ तरिकाले सञ्चालन हुने पनि जानकारी दिएका छन् ।