मेयर राणालाई झट्का

नगर हिँउदमै डुबेपछि..........


मेयर राणालाई झट्का

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका डुवानको समस्या समाधान गर्न सरकारी तहबाट थुप्रै प्रयास नभएको भने होइन । नगर डुवानको सम्भावित स्थानको खोजी र त्यसको समाधानका लागि यसअघि थुप्रै प्रयास भएका छन् । तर, समस्या ज्यूँका त्यूँ नै रह्यो ।


हालै मात्र नेपालगन्ज उपमहानगरपालिकाले एडिबिको सहयोगमा नगर डुवानको समस्या समाधान गर्न सडक फराकिलो पारी पानी र ढल निकासीका लागि ठूला र चौडा नाला बनाइनुका साथै नयाँ नाला समेत निर्माण गरेकोले नेपालगन्ज डुवानको समस्या समाधान भएको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख मेयर डाक्टर धवलसम्शेर राणाले यस अघि सञ्चारकर्मीसँग गरिएको छलफलमा उद्घोष गरेका थिए । तर, वर्षातको समय आउन झण्डै ६ महिना बाँकी रहदाँ (आज) शुक्रबार भएको वर्षाले नेपालगन्जका विभिन्न स्थान डुवानमा परेका छन् ।


नेपालगन्ज वडा नम्बर २, घरबारी टोल, सेतुविकचोक नजिक रहेको क्यूएफएक्स सिनेमाहलको पछाडी, वागेश्वरी मन्दिर, त्रिवेणीमोड, धमबोझीचोक लगायतका क्षेत्रमा डुवान भएकोछ । मेयरसावले नगर डुवानको समस्या सधैको लागि समाधान भएको उद्घोष गरिरहदाँ महिनादिन नपुग्दै माघमा भएको वर्षातले डुवान परेपछि नगरडुवानले मेयर सावको उद्घोषको खिल्ली उडाउँदै कुरी कुरी गरेकोछ ।

डाक्टर राणाले त्यो बेला भने झै सबै नगर तथा गाउँ बस्ती अब कहिल्यै नडुबुन ! धुलो धुवाँ र फोहोर पनि नहोउन, भन्ने सोचेका नेपालगन्जीयाले शुक्रबार सामाजिक सञ्जालमा मेयर राणाले डुबानमुक्त बनाउने बिषयमा गरेको घोषणा कार्यान्वयन नभएको प्रतिक्रिया दिएका छन् । शुक्रबार मेयर राणाको तिब्र आलोचना समेत भएको छ ।

पुष १९ गते शुक्रबार उपमहानगरपालिकाले गरेको सञ्चारकर्मीसँगको कार्यशालामा मेयर राणाले अब नेपालगन्ज डुबानमुक्त हुने बताएका थिए । आगामी वर्षात अघि नै नाला निकासको काम सम्पन्न भइसक्ने बताउँदै राणाले ‘अब फेसबुकमा नेपालगन्ज डुबेको फोटो राख्ने मौका कसैले पाउने छैनन् ।’ तर, उनको भनाई एकमहिना नपुग्दै नेपालगन्ज डुवानमा परेकोछ ।