महोत्सवको पूर्व सन्ध्यामा सरसफाई


महोत्सवको पूर्व सन्ध्यामा सरसफाई

कोहलपुर: पाँचौं कोहलपुर औद्योगिक ब्यापार, कृषि, फुडफेस्टिभल तथा पर्यटन महोत्सवको पूर्व सन्ध्यामा बृहत्त सरसफाई कार्यक्रम गरिएको छ । शनिबार अखिल विश्व गायत्री परिवार र नगर स्तरीय युवा संजालको संयुक्त आयोजनामा सरसफाई कार्यक्रम गरिएको हो । महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

आउँदो १४ गतेबाट कोहलपुर उद्योग बाणिज्य संघ र होटल व्यवसायी संघ बाँके कोहलपुरको संयुक्त आयोजनामा महोत्सव हुन गइरहेको छ । कोहलपुर शहर हाम्रो शान व्यावसायीक प्रवद्र्धन हाम्रो पहिचान भन्ने मुल नाराका साथ महोत्सव हुन गइरहेको हो ।


महोत्सव कार्यन्वयन समितीका सदस्य सचिव विश्वराज खनालले भव्य रुपमा सञ्चालन हुन गइरहेको महोत्सवको तयारी तिव्र पारिएको जानकारी दिए । स्टल, मञ्च, गेट निर्माण लगायतका काम लगभग पुरा भइसकेको उनले बताए । स्टल बुकिङ सबै भइसकेको बताउदै आयोजक मध्येका होटल व्यवसायी संघ बाँके कोहलपुरका महासचिव समेत रहेका खनालले महोत्सवलाई भव्य र सभ्य बनाउनको लागि सम्पूर्ण टिम नै लागिपरेको दाबी गरेका छन् ।


पुर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने तय भएको महोत्सवको तयारी समेत सोही अनुसार भएको महोत्सव कार्यन्वयन समितिका सदस्य सचिव खनालले जानकारी दिए ।

उनका अनुसार महोत्सवको प्रमुख आर्कषणमा फुडफेस्टीभल र दर्शकका लागि ९० फिटको भ्यूटावरबाट कोहलपुर क्षेत्रको दृश्य अवलोकन गर्ने व्यवस्था हुनेछ । महोत्सवको आर्कषक बाल उद्यान तथा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा विभिन्न साँस्कृतिक कार्यक्रम र हाँस्यब्यग्यको प्रस्तुति समेत हुनेछ ।


माघ २७ गतेसम्म महोत्सवको अवलोकन एक लाख ५० हजार भन्दाबढी मानिसहरुले गर्ने लक्ष्य आयोजकले राखेको छ । महोत्सवबाट आम्दानी भएको रकमले उद्योग बाणिज्य संघले बहुउद्देश्यीय भवन निर्माण गर्ने र होटल व्यवसायी संघ बाँके कोहलपुरले भवन निर्माणको लागि जग्गा खरिदमा खर्च गर्नेछन् ।